समाचार

नेपालगञ्जमा योग दिवस

१ माघ, बाँके । योग समिति नेपालले आज नेपालगञ्जमा नवौँ राष्ट्रिय योग दिवस मनाएको छ । नेपालगञ्ज उपमहानगरपालिका परिसरमा विशेष कार्यक्रमको आयोजना गरी योग दिवस मनाइएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट र नरैनापु गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको उपस्थितिमा योग समिति नेपालले योग दिवस मनाएको योगगुरु गिरिराज भट्टराईले बताए ।

नेपालगञ्जका प्रमुख बिष्टले आधुनिक समाजमा योगको महत्व बढ्दै गएको भन्दै शारीरिक सुस्वास्थ्य र स्वस्थ जीवनशैलीका लागि योग अति आवश्यक रहेको बताए । शारीरिक तन्दुरुस्तीका लागि पनि विश्वभर योगको आकर्षण बढ्दै गएको बताए ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले सबै प्रकारको रोगबाट मुक्ति मिल्ने योगाभ्यास ग्रामीण क्षेत्रमा योगबारे अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले योगले शारीरिक तथा मानसिक रुपमा पनि नागरिकलाई स्वस्थ बनाउने भएकाले स्थानीय सरकारले यसलाई जोड दिएर राष्ट्रिय दिवसका रुपमा मनाउने गरेको बताए ।

अध्यक्ष शाहले नेपालगञ्ज उपमहानगरपालिका र नरैनापुर गाउँपालिकाको सहयोगमा राष्ट्रियस्तरको योग सम्मेलन गर्नका लागि तयारी गर्न योग समिति नेपाललाई आग्रह गरे ।

त्यस अवसरमा योगमार्फत मानवसेवामा अतुलनीय योगदान पु¥याएको भन्दै योग समितिका आजीवन सदस्य नीलबहादुर शाक्यलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो । योगगुरु भट्टराईले योगको प्रशिक्षण दिनाका साथै यसको महत्वबारे बताएका थिए ।