समाचार

हिउँले टलक्क टल्कने सोलुखुम्बुका हिमाल कालापत्थरमा परिणत हुँदै

२ माघ, सोलुखुम्बु । समयमा हिमपात नहुँदा हिमाली जिल्ला सोलुखुम्बुका सेता हिमाल क्रमशः कालो बन्दै गएका छन् । समयमा हिमपात तथा वर्षात नहुँदा सधैँजसो चाँदी झैँ टलक्क टल्कने सेता हिमाल कालापत्थरमा परिणत हुँदै गएका हुन् । बितेका वर्षमा मङ्सिर महिनामै हिमपात हुने गरेकामा यस वर्ष माघ लागिसक्दा समेत हिउँ पर्ने छाँटकाँट नरहेको स्थानीय सन्तोष मगरले बताए ।

गत वर्ष पनि ढिला गरी हिमपात भएको थियो भने यस वर्ष पनि माघ लाग्दासमेत हिउँ पर्न नसकेको उनको चिन्ता छ । मगरले भने, “हिउँ नपर्दा हिमाल कालो हुन थालेको छ भने बालीनाली पनि सुक्न थालेका छन् । यतिबेला हिमाली जिल्लाका खेतबारी र डाँडापाखा सेताम्मे हिउँले ढाकिन्थे ।” सदरमुकाम सल्लेरीबाट आँखै अघि देखिने नुम्बुर हिमाल यस वर्ष खासै चहकिलो देखिएको छैन । सधैँजसो हिउँले पूरै भरिने नुम्बुर हिमालमा अहिले पहाडका कालो भाग देखिन थालेको सल्लेरीका एक वृद्ध जाङ्बु शेर्पाले बताए ।

उनले भने, “हिउँ नपर्दा हिमाल हिमालजस्तो रहेन, डाँडाकाँडा पूरै सुक्खा हुँदै गएर विरक्त लाग्दा देखिएको छ, खै के भएर यस्तो भएको हो, समय फेरिएर हो कि के भएको हो, अचम्म लाग्दो भएको छ ।” सामान्यतया चिसो मौसममा हिमपात हुन्छ । पुसको सुरुआत नै यहाँका लागि हिमपातको मुख्य याम हो तर यस वर्ष तल्लो क्षेत्र मात्र नभई उच्च हिमाली क्षेत्र खुम्बुमा समेत अहिलेसम्म हिमपात भएको हुन सकेको छैन । हिमपात हुने समयमा हिउँ नपर्दा खुम्बुका स्थानीयले समेत अनौठो मानेका छन् ।

सर्वाेच्च शिखर सगरमाथासहित ल्होत्से, नुत्से, पुमरी, आमादब्लम, कोङ्गदे जस्ता चर्चित हिमालमा हिउँको मात्रा कम हुँदै गएको नाम्चेका लामाकाजी शेर्पाको अनुभव छ । “करिब दुई वर्षअघि पुसको सुरुआतमै दुई फिटसम्म हिमपात भएपछि गाउँदेखि आन्तरिक पर्यटक हिउँमा रमाएका थिए तर गत वर्ष पनि ढिला गरी हिमपात भयो, यस वर्ष पनि माघ लागिसक्दा हिउँ पर्न सकेको छैन”, शेर्पाले सम्झँदै भने ।

किसानलाई चिन्ता

समयमा हिमपात तथा वर्षात नहुँदा सोलुखुम्बुका किसान चिन्तित बनेका छन् । हिउँदयाममा परेको हिउँले बाली सप्रने भए पनि माघ लाग्दा हिउँ नपर्दा किसान चिन्तित भएका हुन् । गएका वर्षमा मङ्सिर, पुसमै हिमपात हुने गरेकामा यस वर्ष माघ लाग्दा हिउँ परेको छैन । हिउँ नपर्दा बालीनाली पनि सुक्न थालेको गार्माका पृथ्वीबहादुर भुजेलको चिन्ता छ । उनले भने, “यतिबेला हिमाली जिल्लाका खेतबारी र डाँडापाखा सेताम्मे हिउँले ढाकिन्थे । यस वर्ष हिउँ नपर्दा डाँडापाखा उराठलाग्दा भएका छन् ।” हिमपात नहुँदा आलु, उवा, गहुँजस्ता बाली बारीमै सुक्न थालेको लिखुपिकेका किसान कामीछिरी शेर्पाले बताए ।