समाचार

सुझाव सङ्कलनपछि मात्रै भूकम्प पुन: निर्माणको ढाँचा तय हुने

५ माघ, काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्प प्रभावितको अवस्था अध्ययन तथा सुझाव सङ्कलनपछि मात्रै भूकम्प प्रभावित क्षेत्रमा पुनःनिर्माणको ढाँचा तयार पार्ने बताएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले स्थलगत अध्ययन र सुझावका आधारमा पुनःनिर्माण अघि बढाइने र त्यसका लागि अहिले स्थलगत अनुगमन तथा सुझाव सङ्कलन थालिएको बताए । उनकै नेतृत्वमा भूकम्प प्रभावित क्षेत्रमा पुगेर टोलीले आजदेखि अनुगमन तथा अध्ययन गर्न लागेको हो । टोली कर्णाली प्रदेश पुगिसकेको छ । टोलीले भोलि रुकुम पश्चिम र पर्सी आइतबार जाजरकोटमा पुगेर अन्तरक्रिया गरी सुझाव लिने उनले बताए ।

“अहिले भूकम्पका लाभग्राहीको अस्थायी आवास निर्माण जारी छ, आवास निर्माण कुन गतिमा भइरहेको छ, के समस्या आइप¥यो र समाधान कसरी गर्न सकिन्छ भन्ने पहिलो विषय अध्ययनको रहेको छ”, कार्यकारी प्रमुख पोखरेलले भने, “त्यसपछि दोस्रो चरणमा हुने पुनःनिर्माणलाई कुन ढाँचाबाट कसरी सञ्चालन गर्ने भन्ने विषयमा पनि सुझाव सङ्कलन गरिने छ ।”

उनले दुवै जिल्लाका प्रभावित क्षेत्र पुगेर अन्तरक्रिया गरिसकेपछि अर्काे दिन सुर्खेतमा आएर प्रदेशस्तरीय छलफल गरी एउटा निचोडमा पुगिने पनि बताए । टोलीले पश्चिम क्षेत्रकै मुख्य नाका नेपालगञ्ज भएकाले विपद् आइपर्दा बाँकेले खेल्नुपर्ने भूमिका तथा आवश्यक विपद् व्यवस्थापन, सामग्री भण्डारणलगायतको तयारीका विषयमा पनि छलफल गरिने जानकारी दिए ।

अनुगमन तथा सुझाव सङ्कलन टोलीमा सहभागी प्राधिकरणका निजी आवास तथा पुनःनिर्माण शाखाका प्रमुख प्रकाशचन्द्र अधिकारीले मुख्यगरी फिल्डमा कस्ता काम भइरहेका छन् र गुनासाहरु के छन् भनेर जानकारी लिनका लागि टोली खटिएको बताएका छन् ।

प्राधिकरणबाट प्राप्त विवरणअनुसार अहिलेसम्म जाजरकोट भूकम्पका लाभग्राही ७९ हजार नाघेका छन् । अहिलेसम्म २४ हजार अस्थायी आवास निर्माण सम्पन्न भइसकेको छ । ५० हजार परिवारसँग अनुदान सम्झौता भइसकेको र १० हजार घर निर्माणाधीन छन् ।