५ माघ, काभ्रेपलाञ्चोक । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले देखिने गरी विकास निर्माणको काम गर्न आग्रह गरेका छन् । आज यहाँ आयोजित भएको ‘प्रदेश र स्थानीय तहबीच अन्तरसम्बन्ध, योजना तर्जुमा र कार्यान्वयन सहजीकरण’ विषयक अन्तरक्रियामा स्थानीय तहका प्रमुखलाई निराशाको कुरा नगरी काम गर्दै अगाडि बढ्न आग्रह गरे ।
उनले नागरिकको सेवाका लागि काम गर्दा समन्वय र सहकार्य गर्न आग्रह गरे । अहिले व्यवस्था फेरिए पनि अवस्था नफेरिएको भनेर कतिपय स्थानीय तहका नेतृत्वले नै कुरा उठाउने गरेको भन्दै मुख्यमन्त्री जम्कट्टेलले त्यस्ता कुराले नागरिकमा झन् वितृष्णा पैदा हुने भन्दै अब व्यवस्था फेरिएसँगै अवस्थासमेत फेरिएको विषयलाई सकारात्मक ढङ्गले बुझाउँदै विकासका काममा अगाडि बढ्न आग्रह गरे । सङ्घीयतापछि स्थानीय तहमा विकास भएको तर उपभोग गर्ने नागरिक कम हुँदै गएकोप्रति उनले चिन्ता व्यक्त गरे ।
ठूला र राष्ट्रिय गौरवका आयोजना सङ्घ सरकारले गर्ने, मझौला आयोजना प्रदेशले गर्ने र साना आयोजना स्थानीय तहले गर्ने प्रस्ट व्यवस्था भएको भन्दै उनले त्यसमा समन्वय र सहकार्य गरेर काम गर्ने परिपाटी कम भएको बताए । अहिले कतिपय विषयमा उठेका अधिकारका कुरा र बजेट विनियोजनको विषयमा तीनवटै तहको समन्वय र सहकार्यमा कमी भएर समस्या निस्केको उनको भनाइ छ ।
स्थानीय सरकारलाई कमजोर बनाउने नभई झन् बलियो बनाउँदै लैजानका लागि प्रदेश सरकार लागिरहेको उल्लेख गर्दै उहाँले पालिकाको नेतृत्वले पनि काम गर्ने शैली र सोच बदल्न आवश्यक रहेकामा जोड दिए । मुख्यमन्त्री जम्कट्टेलले सडक निर्माणका सन्दर्भमा प्रादेशिक सडक गुरुयोजना बनाएर काम गर्ने र अन्य पूर्वाधार विकासका लागि त्यसरी नै सहजीकरण गरेर काम गर्ने भएकाले त्यस विषयमा थप सुझाव भएमा बसेर छलफल गरी अगाडि बढ्ने उनले बताए ।
शिक्षा, कृषि, स्वास्थ्य र अन्य आयोजनाबारे स्थानीय तहमा भइरहेका अधुरा, अलपत्र तथा बजेट अभावका कारण काम नभएको अवस्था भएमा तत्काल अध्ययन गरी अनुगमन प्रतिवेदन पेस गरेर सम्पन्नतातर्फ अगाडि बढ्न सबै मिलेर लाग्नुपर्ने बताउनुभयो । त्यस्तै ढुङ्गा, गिट्टी, बालुवाजस्ता वस्तुमा मूल्य बढी भएको र जथाभावी दोहन हुन नदिन स्थानीय तहले आवश्यक व्यवस्थापनको नीति बनाउन स्थानीय तहलाई आग्रह गरे ।
जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपक गौतमले जनप्रतिनिधिले गुनासोका कुरा बढी उठाउने र अधिकारको मात्रै खोजी गरिरहँदा नागरिकमा वितृष्ण पैदा हुँदै गएको भन्दै अब आशा र रचनात्मक काममा जोड दिन आवश्यक रहेको बताए ।
बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्याय, चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख एवं नगरपालिका महासङ्घका उपाध्यक्ष कृष्णप्रसाद सापकोटा, गाउँपालिका राष्ट्रिय महासङ्घका सचिव एवं फिक्कल गाउँपालिका अध्यक्ष पार्वती सुनुवार, आर्थिक मामिला तथा योजना मन्त्रालय बागमती प्रदेशका सचिव प्रकाश दाहाल, इन्द्रावती गाउँपालिका सिन्धुपाल्चोकका अध्यक्ष झम्कनाथ नेपाल र कमलामाई नगरपालिका सिन्धुलीका प्रमुख उपेन्द्रकुमार पोखरेललगायतले प्रदेश र सङ्घबाट पालिकास्तरमा सञ्चालन हुने कुनै पनि योजनाको समन्वय नहुँदा अनियमितता र अलपत्र भएको तथा पारदर्शिता नहुने भन्दै समन्वय र सहकार्यमा काम गर्न आवश्यक रहेकामा जोड दिए । कार्यक्रममा स्थानीय तहका प्रमुख तथा कर्मचारीलगायतको सहभागिता थियो ।