प्रवास

कंगोमा ज्यान गुमाएका डोटीका सुरेश सिल्लाको परिवारलाई एनआरएनएबाट साढे २६ लाख सहयोग हस्तान्तरण

६ माघ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले वैदेशिक रोजगारीका सिलसिलामा कंगोमा ज्यान गुमाएका डोटी आदर्श गाउँपालिका–६ का सुरेश सिल्लाको परिवारलाई साढे २६ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् अध्यक्ष डा. बद्री केसीले शनिबार केन्द्रीय कार्यालय काठमाडौंमा आयोजित समारोहमा पीडित परिवारलाई २६ लाख ६१ हजार ९२० रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
चार महिने नाबालक खगेन्द्रसहित उपस्थित सिल्लाकी पत्नी राजु सिल्ला, पिता पदमबहादुर सिल्ला, दाजु वीरेन्द्रसिंह सिल्ला, ठूलो बुवा धनबहादुर सिल्ला र आदर्श गाउँपालिका अध्यक्ष गणेश खड्काले एनआरएन अध्यक्ष केसीसहित अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीबाट चेक बुझेका थिए ।

परिवारलाई हस्तान्तरण गरिएको रकम राष्ट्रिय समन्वय परिषद् कंगोले संकलन गरेको थियो । एनआरएनए कंगोका अध्यक्ष विष्णु गिरीले सहयोग जुटाउन नेतृत्व गरेका थिए ।
एनआरएनए महासचिव गौरीराज जोशीकाअनुसार हस्तान्तरण गरिएको रकममध्ये ४० प्रतिशत हिस्सा नाबालक छोराको लागि, ३० प्रतिशत श्रीमती र ३० प्रतिशत बुवारआमाको खर्च भनेर सहयोग गरिएको हो ।

सिल्लाको परिवारलाई सहयोग रकम हस्तान्तरण गर्दै एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् अध्यक्ष डा. केसीले यो दुखको घडीमा एनआरएनले थोरै भए पनि मलहम लगाउने प्रयास गरेको बताए । ‘हामी गैरआवासीयको विडम्बना नै यही हो । हामीले चित्कार गरिरहेको विषय नै यही हो । हामी नेपालबाट मासिकरुपमा चार लाख स्वस्थ मान्छे पठाएर शव बुझ्न बाध्य भएका छौं । यही पीडा कम गराउनको लागि नै गैरआवासीय नेपाली संघ स्थापना भएको हो । संघले स्थापनाकालदेखि नै संघले यो बाकस कति बुझिरहने, यसलाई कम गर्नुपर्यो भनेर धेरै काम गरेका छौं, यद्यपि रोकिएको छैन । आज सुरेश सिल्लाको पनि त्यही हालत भएको छ,’ उनले भने ।

धेरै नेपालीहरु श्रम स्वीकृत लिएर जाँदाखेरी अझ सुरक्षित भए पनि त्यो वातावरण नरहेको अध्यक्ष केसीको भनाइ थियो । ‘धेरैले स्वीकृति लिएर जानुभएको छैन । किनभने बाहिर निस्किँदा एयरपोर्टमै सेटिङ गर्नुपर्छ । कागजहरु हुँदाहुँदै पनि सेटिङ भएन भने, ४०र५० हजारदेखि १र२ लाखसम्म दिएन भने त्यो ठाउँमा जानै पाइँदैन । अफ्रिकाको कथा यही छ । कंगोको कथा यही छ । कंगोमा राम्रो तलबमा काम गर्न जान नेपालीहरु तयार छन्, त्यो ठाउँ छ । तर, कंगोमा नेपाल सरकारले स्वीकृति दिएको छैन । अफ्रिकामा उच्च सीपयुक्त नेपालीहरु जान तयार छन् । तर सरकारले दिँदैन,’ उनले भने । यस्ता देशहरुमा नेपालीहरुले राम्रो तलब पाउँछ भने किन जान नदिने भनेर श्रम मन्त्रालयसँग सम्वाद गरिरहेको उनले जानकारी गराए । कंगोमा करिब २ हजार नेपाली रहेको र उनीहरु पनि अवैधानिक रुपमै जान बाध्य भएको उल्लेख गर्दै भने, ‘छुट्टीमाम नेपाल फर्किन पनि भारतबाट आउनुपर्छ । भारतबाटै फर्किनुपर्छ । सेटिङका कारण नेपालबाट जान नसक्ने बाध्यता छ ।’

यो बाध्यताका कारण विभिन्न कालखण्डमा जानेहरु मारिनुपरेको भन्दै अध्यक्ष केसीले यसलाई अन्त्य गर्न प्रयत्न जारी रहने बताए । ‘आज कलिलो बालक टुहुरो भएको छ । पत्नी विधुवा भएकी छन् । यो दुखको घडीमा कंगोका साथीहरुले सहयोग पठाएका छन् । धेरै भएर पठाएको होइन, ठूलो मन गरेर पठाएको हो । त्यो पैसा छोराको पढाईमा खर्च गर्नुस् । बच्चाको पढाइको लागि हामी अन्य सहयोग पनि गर्छौं,’ उनले भने ।

सहयोग रकम बुझ्दै गाउँपालिका अध्यक्ष गणेश खड्काले राहत संकलन गरेर परिवारलाई सहयोग गरी दुखको घडीमा मलहम लगाउने प्रयास गरेकोमा कंगोका नेपालीहरुलाई धन्यवाद दिए । उनले मृतकको परिवार र बच्चालाई पालिकाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाए । ‘राष्ट्रका दक्ष युवाहरुको विदेश जाने परिपाटी बढ्यो । देशभित्रै रोजगारी सिर्जना नभएसम्म देश बन्दैन ।
विदेशमा जति काम युवाहरु गर्नुहुन्छ, त्यति नेपालभित्रै गरेको भए देश बन्थ्यो । तर सरकारले त्यो वातावरण बनाउनुपर्छ । दैनिक लास भित्र्याउने दैनिक रोक्नुपर्छ । सीप र योग्यताको आधारमा नेपालमै काम गर्ने वातावरण बनाउन सरकारलाई दबाब दिनुपर्छ । नेपालमा कृषिको सम्भावना छ । तर बाहिरबाट भित्र्याउनुपरेको छ । तर युवाहरु बाहिर जानुपरेको अवस्थालाई अब अन्त्य गर्नुपर्छ,’ उनले भने ।