समाचार

म्याग्दीमा अनलाइन फारम निःशुल्क

६ माघ, म्याग्दी । जिल्ला प्रशासन कार्यालय म्याग्दीले राष्ट्रिय परिचयपत्रको अनलाइन फारम निःशुल्क भर्ने सेवा सुरु गरेको छ ।

आफैँ अनलाइन फारम भर्न नसक्ने सेवाग्राहीले शुल्क तिरेर व्यवसायीको सहायता लिने गरेका थिए । निःशुल्क रुपमा प्रशासन कार्यालयमै फारम भरिदिन थालिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले राससलाई जानकारी दिए ।

“राष्ट्रिय परिचयपत्रको अनलाइन फारम भर्न छुट्टै कर्मचारी, कम्प्युटर र प्रिन्टरको व्यवस्था मिलाएका छौं ,” उनले भने “आफैँ भर्न सक्नेले आफैँ भर्नुहुन्छ । नसक्ने सेवाग्राहीले बजारका साइबरमा शुल्क तिरेर राष्ट्रिय परिचयपत्रको अनलाइन फारम र विवरण भर्नु पर्दैन । कर्मचारीले भरिदिने व्यवस्था मिलाएका छौं ।”

निःशुल्क रुपमा प्रशासनमै अनलाइन फारम भर्दा खर्चको बचत र झञ्जट हटेको बेनी नगरपालिका–२ गौस्वाराकी सपना केसीले बताए । “बजारको साइबरमा राष्ट्रिय परिचयपत्रको अनलाइन फारम भरेको १ सय देखि २ सय तिर्नुपर्दथ्यो,” केसीले भने “प्रशासनमा निःशुल्क फारम भर्न पाउँदा खर्च बचत हुनुका साथै झञ्जट पनि हट्यो ।”

प्रशासन कार्यालयका अनुसार म्याग्दीमा दैनिक ३५ जनाले राष्ट्रिय परिचयपत्रको अनलाइन फारम, विवरण भर्ने र बायोमेट्रिक गर्ने सेवा लिने गरेका छन् । व्यक्तिको आँखा, अनुहार, हात, औंठाछाप आदिको विद्युतीय (डिजिटल) विवरण सङ्कलन गर्ने आधुनिक प्रणालीलाई बायोमेट्रिक भनिन्छ ।

सहायक प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्तले राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीलाई सहजताका लागि मौजुदा कर्मचारी परिचालन गरेर अनलाइन फराम निःशुल्क भर्ने व्यवस्था मिलाएको बताए । राहदानीको अनलाइन फराम भर्ने सेवालाई पनि सुरु गर्ने तयारी भएको उनले सुनाए ।