९ माघ, काठमाडौँ । नेपाल पत्रकार महासङ्घले अन्नपूर्ण दैनिकका समाचारदाता राजकरण महतोमाथि सार्वजनिक यातायातका सहचालबाट गरिएकोे दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासङ्घको महोत्तरी शाखाका सचिव महतोलाई यही माघ ७ गते बा २ ख ४५३४ नम्बरको सुन्दरीमाई यातायातका सहचालकले अश्लील शब्दसमेत प्रयोग गरी गालीगलौज गरेको जनाइएको छ ।
महासङ्घका महासचिव रोशन पुरीले उक्त घटनाका बारेमा आज एक प्रेस विज्ञप्ति जारी गर्दै हरेक नागरिकको सम्मानपूर्वक बाँच्न पाउने अधिकारको प्रत्याभूति गर्न सरकारसँग माग गरेका छन् । महासङ्घले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न सम्बन्धित पक्षसँग माग गरेको छ ।
यसैबीच, पीडित पत्रकार महतोले दोषीलाई कारबाहीको माग गर्दै नेपाल प्रहरीको तीनकुनेस्थित प्रहरी वृत्तमा उजुरी दिएका छन् । उक्त वृत्तका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथाकीले निवेदन प्राप्त हुनासाथ यातायात कार्यालयबाट विवरण मगाएर अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिए ।