समाचार

पिताजी कृष्णप्रसाद कोइराला सम्मान श्रेष्ठलाई

९ माघ, मोरङ । पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठलाई ‘समर्पण सम्मान–२०८०’बाट सम्मान गरिएको छ । पिताजी कृष्णप्रसाद कोइराला स्मृति परिषद् विराटनगरले आज यहाँ एक कार्यक्रम आयोजना गरी उनलाई उक्त सम्मान प्रदान गरेको हो । नेपाली कांग्रेसका नेता डा शेखर काइरालाले श्रेष्ठलाई प्रमाणपत्र एवं दोसल्ला ओढाई सम्मानित गर्नु भएको छ ।

कार्यक्रममा डा कोइरालाले सङ्घीयताको सफल कार्यान्वयनका लागि जनताको घरघरमा सरकार पुग्नुपर्ने बताए । उनले मुलुकमा लोकतन्त्र स्थापित गर्न सुशासन एवं पारदर्शिता कायम गरी भ्रष्टाचार, दण्डहिनता अन्त्यका लागि सबै दल लाग्नुपर्नेमा जोड दिए । नेता डा कोइरालाले २ हजार ५ सय चिकित्सक विदेश पलायन भएका भन्दै यसप्रति चिन्ता व्यक्त गरे ।

उनले दक्ष जनशक्ति मुलुकमा बस्ने वातावरण मिलाउनुपर्ने आवश्यकता औँल्याए । सम्मानित पूर्वप्रधान न्यायाधीश श्रेष्ठले सङ्घीयतामा जनतालाई लाभ र उपलब्धिता दिनुपर्ने भन्दै लोकतन्त्रमा नागरिकका समस्याप्रति दल गम्भीर भएर समाधान गर्नुपर्नेमा जोड दिए । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले औद्योगीकरण, सञ्चार, शैक्षिक, पूर्वाधार विकास तथा राजनीतिक क्षेत्रमा पिताजी कृष्णप्रसाद कोइरालाको भूमिका महत्त्वपूर्ण रहेको चर्चा गरे ।

कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, परिषद्का अध्यक्ष कविराज न्यौपाने, नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य महेश रेग्मी, बुढीगङ्गा गाउँपालिकाका अध्यक्ष जीतबहादुर थापामगर, योगेन्द्र अधिकारी र कांग्रेस नगर सभापति दीपक चापगाईंले प्रजातन्त्र स्थापना र समाज परिवर्तनमा पिताजी कोइरालाले पु¥याएको योगदानबाट आजका युवा पुस्ताले प्रेरणा लिनुपर्ने बताएका थिए ।