समाचार

लुम्बिनीमा सत्ता गठबन्धनका सुवेदी र सापकोटा विजयी

११ माघ, घोराही (दाङ) । राष्ट्रियसभा निर्वाचनमा लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवारी विजयी भएका छन् । सत्ता गठबन्धनबाट लुम्बिनी प्रदेशमा उम्मेदवार बनेका नेकपा माओवादीका झक्कुप्रसाद सुवेदी र नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी विष्णुदेवी सापकोटा विजयी भएका छन्। सुवेदी अन्यतर्फ र सापकोटा महिला कोटामा विजयी भएका हुन् ।

आज भएको निर्वाचनमा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार झपेन्द्रबहादुर घर्ती क्षेत्री र तुलसा केसीलाई हराउँदै गठबन्धनतर्फबाट उम्मेदवार बन्नुभएका सुवेदी र सापकोटा विजयी भएका हुन् । निर्वाचनमा सुवेदीले पाँच हजार चार सय ३५ र सापकोटाले पाँच हजार चार सय ३५ मतभार प्राप्त गर्दै विजयी भएको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिए । 

निर्वाचन अधिकृत पाण्डेका अनुसार नेकपा एमालेका उम्मेदवार केसीले दुई हजार आठ सय ६७ मतभार र घर्ती क्षेत्रीले तीन हजार ३९ मतभार प्राप्त गरेका थिए । 

त्यसैगरी, महिला कोटामा राप्रपाबाट उम्मेदवार बन्नुभएकी विजयालक्ष्मी सिंह दुई सय ५० र अन्य कोटामा जनमत पार्टीका बालगोविन्द चौधरीले दुई सय ५० मतभार प्राप्त गरेका थिए । आज बिहान ९ देखि दिउँसो ३ बजेसम्म भएको निर्वाचनमा प्रदेशसभातर्फ ८७ र स्थानीय तहतर्फ भएको तीन सय पाँच मतमध्ये तीन सय तीन मत खसेको थियो ।