स्वास्थ्य

छालाका विभिन्न समस्याहरु र उपचारका लागि अल्ट्राभाइलेट लाइट थेरापी

१६ माघ, काठमाडौँ । मानिसको स्वास्थ्य संगै सौन्दर्य पनि त्यत्तिकै महत्व राख्ने विषय हो । समाजमा हामी छालाका विभिन्न समस्याबाट ग्रसित व्यक्तिहरु देख्ने गर्दछौं । उपचारको लागि भौंतारिनेहरु पनि हुन्छन् । सही परामर्श र उपचार नपाएर छालाको समस्यालाई कम गर्नुको सट्टामा थप समस्या थपिने जोखिम रहेको हुन्छ । छालाका विभिन्न समस्याहरु र त्यसको उपचारको लागि अल्ट्राभाइलेट थेरापीको विषयमा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डा. मनिष प्रधान संग गरिएको कुराकानीको सार संक्षेप ।

सेतो दुवी / डा. मनिष प्रधानका अनुसार छालामा हुने मेलानिनको कमीले गर्दा छालाको रङ्ग, रौंको रङ्गमा फिक्का पन आउने गर्दछ जसलाई सेतो दुवी भनिन्छ । छालामा मेलानिन उत्पादन गर्ने कोषिकाहरु मरेको खण्डमा वा उत्पादनमा कमी भएको अवस्थामा मेलानिन कम हुन जान्छ र सेतो दुवी देखा पर्दछ । यसको आकार विस्तारै बढ्दै जान सक्छ । छालाको रङ्गमा हुने परिवर्तनले गर्दा मानसिक तनाव हुने गर्दछ । उनका अनुसार यो समस्या मानिसको जीवनलाई नै जोखिममा पार्ने प्रकारको समस्या भने होइन तर यसले मानिसलाई मानसिक तनावमा पार्ने गर्दछ ।

एक्जिमा / छालाका अन्य समस्याको बारेमा कुरा गर्दै डा. प्रधानले भने मानिसलाई दुःख दिने अर्काे समस्या भनेको एक्जिमा पनि हो । छाला सुख्खा भई फुस्रो हुने, चिलाउने र सुख्खा पन बढेमा चिलचिलाउने क्रममा पनि बृद्धी भई कनाउदा कनाउदा रगत आउने सम्मको समस्या हुन सक्दछ । एक्जिमा धेरै प्रकारको हुने र विभिन्न कारणहरुले हुन सक्दछ । यो बंशानुगत पनि हुन सक्दछ । कसैमा रोग प्रतिरोधात्मक क्षमता अत्यधिक हुँदा पनि यो समस्या देखा पर्न सक्छ भने वातावरणको कारणले गर्दा पनि हुन सक्छ ।

सिरोयासिस / डा. प्रधानका अनुसार सिरोयासिस छालाको एउटा त्यस्तो समस्या हो जुन मानिसको रोग प्रतिरोधात्मक क्षमता संग सम्वन्धित छ । रोग प्रतिरोधात्मक क्षमता बढी सकृय भएको कारण कोषिकाको बृद्धी सामान्य भन्दा छिटो हुन्छ र यो समस्या भएको मानिसको छालाको रङ्ग रातो वा सेतो हुन्छ, सुन्निएको हुन्छ । यो हात, कुहिना, खुट्टा, ढाड, खोपडीमा देखा पर्दछ र अन्य भागमा समेत हुन सक्छ । सिरोयासिस दीर्धकालिन समस्या हो र केही समय देखा परेर हराउने गर्दछ र केही समय पछि फेरी आउने गर्दछ ।

लाइकन प्लानेस / छालामा दाग आउने, चिलाउने र यो समस्या देखिएको छालाको भाग रातो वा बैगुनी रङ्गको हुने समस्यालाई लाइकन प्लानेस भनिने र यो समस्या लामो समय सम्म हुने डा. प्रधान बताछन् । यो कुनै औषधीको प्रतिकृयाले वा संक्रमणले हुन सक्दछ । मानिसको रोग प्रतिरोधात्मक क्षमताको अस्वाभाविकपनाले पनि यो हुन सक्दछ । यो एक वर्ष भन्दा बढी समय सम्म रहन सक्ने र आफै हराए पनि फेरी बल्झिने हुन्छ ।

छालाको समस्याको अल्ट्राभाइलेट प्रकाशबाट उपचार

डा. प्रधानका अनुसार सेतो दुवी, एक्जिमा, सिरियोसिस, लाइकन प्लानेस जस्ता छालाको समस्याको लागि अल्ट्राभाइलेट प्रकाशबाट उपचार गर्नु धेरै प्रभावकारी हुन्छ । हुन त अल्ट्राभाइलेट रे भन्दा मानिसहरुमा यो हानीकारक हुन्छ भन्ने लाग्दछ तर यो पद्धतीमा प्रकाशमा भएको हानीकारक रे लाई हटाई फाइदाजनक र सुरक्षित रे को प्रयोग गरी छालाको समस्या भएका मानिसलाई सेक्ने गरिन्छ । अल्ट्राभाइलेट प्रकाश युक्त सानो कोठा जस्तो क्याविनेटमा मानिसलाई फोटोथेरापी दिने गरिन्छ । यो प्रविधिबाट उपचार गराउने विरामीलाई हप्ताको दुई दिन थेरापी दिने गरिन्छ । सुरुमा दुई मिनट थेरापी दिइने र त्यसको प्रभाव बढ्दै गई छालाको समस्यामा कमी आउन थाले पछि क्रमश थेरापीको समय कम गर्दै जाने उनको भनाई छ । नोवेलमा उपलव्ध यो प्रविधीले गर्दा छालाका समस्या भएका विरामीहरुको उपचारमा सहज भएको छ ।

विरामी दर्तामा शुल्क नलाग्ने, छाला रोग विशेषज्ञबाटै निःशुल्क जाँच र परामर्श हुने, त्यस्तै अल्ट्राभाइलेट प्रविधिको शुल्क पनि सस्तो भएकोले विरामीहरुलाई उपचारमा धेरै सहुलियत पुग्ने गरेको नोबेल शिक्षण अस्पतालका महाप्रवन्धक दिपेश राईले बताए