२४ माघ, काठमाडौँ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोसत्व (निफ)को सातौँ संस्करणमा चलचित्र निर्देशक तथा प्रोफेसर सिए फेई निर्णायक समितिको प्रमुखमा मनोनीत भएका छन् ।
दुई पटक बर्लिन चलचित्र महोत्सवमा पुरस्कार जित्न सफल भएका निर्देशक फेईलाई महोत्सवमा जोड्न पाउँदा आफूहरू उत्साहित रहेको महोत्सवका अध्यक्ष केपी पाठकले बताए । “महोत्सवमा चलचित्रतर्फको प्रमुख निर्णायकका रुपमा विश्वप्रसिद्ध निर्देशक फेईलाई जोड्न पाउनु सुखद खबर हो ।
हामी विश्वका चलचित्रकर्मीसँग हाम्रो चलचित्रलाई जोड्न चाहन्छौँ, सोही कारण अन्तर्राष्ट्रिय चलचित्रकर्मी यसमा जोडिनु हुन्छ”, अध्यक्ष पाठकले भने ।
बेइजिङ चलचित्र प्रतिष्ठानका पूर्वउपाध्यक्ष फेई सन् १९८० देखि प्राध्यापनमा पेशामासमेत आबद्ध छन् । यस अगाडि महोत्सवमा चलचित्रतर्फ अभिनेता प्रदीप खड्का, छोटा चलचित्र तथा वृत्तचित्रतर्फ अभिनेत्री दिया मास्के र किशोर आचार्य नेपालका तर्फबाट निर्णायक समितिमा सदस्य रहने तय भइसकेको छ । आगामी चैत १ देखि ५ गतेसम्म काठमाडौँमा हुने महोत्सवमा ४० देशका ८८ चलचित्र छनोट भएका छन् ।