समाचार

औद्योगिक क्षेत्रमा सुधार ल्याइने

२६ माघ, हेटौँडा । बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले उद्योगको विकासका लागि औद्योगिक क्षेत्रमा सुधार ल्याइने बताएका छन् । आज हेटौँडामा आयोजित बागमती उद्योग परिसङ्घको अन्तक्र्रिया कार्यक्रममा उनले बन्द उद्योगलाई सञ्चालनमा ल्याइने बताए ।

मन्त्री चित्रकारले बन्द उद्योगलाई सञ्चालन गर्ने, नयाँलाई निर्बाधरुपमा सञ्चालनको वातावरण बनाउनेलगायत कार्य गर्दै सरकार गरिरहेको बताए । उनले औद्योगिक क्षेत्रलाई थप सुदृढ बनाउन कमजोर निर्णयलाई सच्चाउँदै वैध मुद्दामा काम गर्ने बताए । यस क्षेत्रमा रहेको दृष्टिकोणमा सुधार ल्याउन जरुरी रहेको उनको भनाइ थियो ।

कार्यक्रममा परिसङ्घका अध्यक्ष लेखराज पोखरेलले प्रादेशिक नीति तथा कानुनमा संशोधन गर्नुपर्ने, कार्यक्रम तथा बजेटमा समावेश गर्नुपर्ने, प्रदेश मन्त्रालयले आफैँले निर्णय गरी संशोधन गर्नसक्ने, सार्वजनिक निजी साझेदारीलगायत विषयमा प्रस्तुतीकरण गरेका थिए ।

उनले उद्योग सञ्चालनमा प्रदेश सरकारले स्पष्ट रुपमा जारी गरी कार्यान्वयन गर्नुपर्ने, राज्यले लगाएको दोहोरो कर हटाउनुपर्ने, श्रमिकलाई महँगीको अनुपातमा बाँच्न सकिने गरी तलबभत्ताको व्यवस्था गरिनुपर्नेलगायत माग गरे ।

कार्यक्रममा सहभागीले स्थानीयमा औद्योगिक कपडाको व्यवस्था, उद्यमीलाई विभिन्न कारण जेल हाल्ने कानुन खारेज, उद्योगको तथ्याङ्ककोे अनुसन्धान तथा विकासलगायत विषयमा छलफल गरेका थिए । उद्योग प्ररिसङ्घका अध्यक्ष पोखरेलको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो ।