समाज

विपद् जोखिम घटाउन अभ्यास हातेमालो

२६ माघ, काठमाडौँ । विपद् जोखिम घटाउने एवं व्यवस्थापनका विविध पक्ष समेटी नेपाली सेनाको अगुवाइमा अभ्यास हातेमालो आज सम्पन्न गरिएको छ । राष्ट्रियस्तरमा विपद् व्यवस्थापनसँग सरोकार राख्ने निकायको सहभागितामा सञ्चालन गरिएको अभ्यास हातेमालोको आज प्रधान सेनापति महारथी प्रभुराम शर्माले समापन गरेका हुन्

तीन दिनसम्म सञ्चालन भएको छैटौँ संस्करणको उक्त अभ्यास विसं २०७५ बाट वार्षिक रूपमा सञ्चालन हुँदै आएको छ । उहाँले यस प्रकारका अभ्यासले विपद् व्यवस्थापनसँग सरोकार राख्ने निकायबीच सहकार्यलाई प्रभावकारी बनाइ समग्र राष्ट्रको विपद् पूर्वतयारी तथा प्रतिकार्य क्षमता अभिवृद्धि हुने बताए ।

उहाँले हालैको जाजरकोट भूकम्प, २०७२ सालको गोरखा भूकम्प तथा कोभिड–१९ महामारी लगायतका विपद्का दौरान भोग्नुपरेका कठिनाइ र यसका सकारात्मक पक्षबारे आफ्नो विज्ञता तथा अनुभवलाई एकापसमा साटासाट गर्न अभ्यास उपयुक्त मञ्च सावित भएको बताए । अभ्यासमा विपद् पूर्वतयारी तथा विपद् प्रतिकार्यका दौरान अवलम्बन गर्नुपर्ने नीतिगत व्यवस्था, संरचनागत सुधार, क्षमता विकास, तालिम, राहत तथा बन्दोबस्तीलगायत विविध पक्ष समेटिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल, बलाधिकृत रथी अशोकराज सिग्देल, रथीवृन्द, विभिन्न मन्त्रालयसहित सरकारी निकायका प्रतिनिधि, संयुक्त राष्ट्रसङ्घीय निकाय, रेडक्रसलगायत गैरसरकारी निकायका प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिको सहभागिता रहेको थियो ।