समाचार

सङ्घीयता र लोकतन्त्रको रक्षाका लागी जोड गर्नुपर्ने : जसपा अध्यक्ष यादव

२७ माघ, सप्तरी । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सङ्घीयता र लोकतन्त्रको रक्षा गर्नुपर्ने बताएका छन् ।

सप्तरीको बोदेबरसाइन नगरपालिकामा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले सङ्घीयता र लोकतन्त्र नै समाप्त पार्ने खेल भइरहेकाले मधेस आन्दोलबाट प्राप्त उपलब्धिलाई गुम्न नदिन त्यसविरुद्ध एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।

त्यस अवसरमा उनले मुलुकका आर्थिक परिवर्तनका लागि कृषि क्रान्ति जोड दिए । तराई मधेसमा सिँचाइ, मल, बीउविजनको सहजताका साथै कृषिमा आधुनिकीकरण गरी कृषिलाई सबल बनाइए देशको अर्थतन्त्र बलियो हुने उनको भनाइ थियो ।

हरेक क्षेत्रमा मधेसी समुदायको प्रतिनिधित्व र पहुँच न्यून रहेको भन्दै ती क्षेत्रमा मधेसी, महिला, जनजाति, आदिवासी, मुस्लिम, पिछडा वर्गलगायत पछाडि पारिएका समुदायको अधिकार सुनिश्चितता मधेस आन्दोलनबाटै भएको अध्यक्ष यादवले जिकिर गरे ।

मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले जसपाको सङ्गठन निर्माणमा ध्यान दिन कार्यकर्तालाई आग्रह गरे । “पार्टीको सङ्गठन निर्माणमा ध्यान दिनुस्”, उनले भने, “प्रदेश सरकारबाट सहयोग चाहिए म सिधैँ सम्पर्कमा छु । मलाई पनि जहाँ आउनुपर्छ आउँछु ।”

कार्यक्रममा सप्तरी क्षेत्र नं. ४ (२) बाट स्वतन्त्र रुपमा उम्मेदवारी दिई प्रदेशसभा सदस्यमा निर्वाचित अनिरूद्व प्रसादसिंह यादव जसपा (नेपाल) पार्टीमा प्रवेश गरेका छन् । उको प्रवेशसँगै मधेस प्रदेशसभामा जसपा नेपालका प्रदेशसभा सदस्यको सङ्ख्या १९ पुगेको छ । यसअघि महोत्तरी २ ‘ख’ बाट निर्वाचित स्वतन्त्र सांसद सुरिता साह र पर्सा ३ ‘क’ बाट निर्वाचित स्वतन्त्र सांसद प्रमोदकुमार जैसवाल जसपामा प्रवेश गरिसकेका छन् ।

बृहत् पार्टी प्रवेश कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका अनुपलाल साह, पूर्वकृषि सचिव शङ्करलाल चौधरीलगायत विभिन्न पार्टी परित्याग गरी सय जना पार्टी प्रवेश गरेका छन् ।