आर्थिक

सुर्य कुण्ड हाइड्रो इलेक्ट्रिकको प्राथमिक शेयर बिक्री प्रबन्धक नियुक्त

२९ माघ, काठमाडौँ । सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सर्वसाधारणबाट पुँजी संकलन गर्ने उद्देश्यले १सय अंकित दरका २० हजार कित्ताले हुन आउने रकम २० करोड मात्र बराबरको साधारण शेयर प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने भएकोे छ । कम्पनीले उक्त कार्य गर्नका लागि नेपाल एसविआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

यसको लागि सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडका तर्फबाट कम्पनीका अध्यक्ष सतिश न्यौपाने र नेपाल एसविआई मर्चेण्ट बैकिङ्ग लिमिटेडका तर्फबाट प्रवन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले आज सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा नं.१ स्थित अप्पर तादी खोला हाईड्रोपावर प्रोजेक्टमा ११ मे.वा. क्षमताको विद्युत आयोजना निर्माण गरिरहेको छ ।

आयोजनाको निर्माण कार्य करिव ५० प्रतिशत सम्पन्न भईसकेको कम्पनीले जनाएको छ । आयोजनाको कूल लागत २ सय २० करोड रहने र आयोजनाको लागि आवश्यक ऋण १ सय ३५ करोड नेपाल एस.वि.आई बैंक लि को एकल लगानीबाट सम्पन्न भएको छ । यस कम्पनीमा अपि पावर कम्पनीकोे बहुमत शेयर लगानी रहेको छ ।

आयोजनामा भारतको फ्लोवेल इनर्जी कम्पनीबाट निर्मित अत्याधुनिक इलेक्ट्रोमेकानिकल समाग्रीहरु जडान गरि अवको १० महिना भित्र आयोजना संचालनमा ल्याउने कम्पनीले जनाएको छ । यस आयोजनाबाट उत्पादित विद्युत शक्ति ३३ के.भि डबल सर्किट लाईनबाट ८ किलोमिटर टाढा रहेको समुन्द्रटार सवस्टेशनमा जडान गरि सो विद्युत मातातिर्थ, काठमाडौँ सवस्टेशनमा ल्याइनेछ ।
यस समुहबाट प्रवद्र्धित कम्पनीहरुबाट हाल सम्म १०० मेगावाट भन्दा बढि विद्युत उत्पादन गरि राष्ट्रको नविकरणीय उर्जा उत्पादनमा योगदान पु¥याएको छ ।