समाचार

भाटभटेनीका सञ्चालक मीन बहादुर गुरुङलाई २ वर्ष जेल सजाय

३ फागुन, काठमाडौँ । भाटभटेनी सुुपरमार्केटका सञ्चालक मिन बहादुर गुरुङलाई २ वर्ष जेल सजाए हुने भएको छ । साथै उनलाई ८० लाख ४८ हजार रुपैयाँ जरिवाना समेत हुने भएको छ ।

ललितानिवास जग्गा प्रकरणमा उनलाई विशेष अदालतले दुई वर्ष जेल सजाय ठहर र ८० लाख ४८ हजार रुपैयाँ जरिवाना गराउने आदेश सुनाएको हो ।

मिन बहादुर गुरुङसँगै अदालतले रामकुमार सुवेदी, शोभाकान्त ढकाललाई दोषी ठहर गरेको छ । त्यस्तै, भूमिसुधार मन्त्रालयका तत्कालीन सचिव छविराज पन्त र दीप बस्न्यात तथासुवर्ण शमशेरका परिवारलाई पनि दोषी ठहर गरेका छन् । कलाधर देउजा, सुरेन्द्रमान कपाली, युक्तप्रसाद श्रेष्ठ, जगतप्रसाद पुडासैनीलाई दोषी ठह¥याउँदै विशेष अदालतले राजीनामा वा बकसपत्रबाट ६५ जनाको नाममा दर्ता भएको जग्गा जफत गर्ने निर्णय गरेको छ ।

छविराज पन्त र दीप बस्न्यातसहित तत्कालीन मालपोत र भूमिसुधार कर्मचारीलाई १९ रोपनी जग्गा हिनामिनामा नौ करोड ६५ लाख बिगो जफत हुने फैसला गरेको छ । अदालतले राजीनामा वा बकसपत्रबाट ६५ जनाको नाममा दर्ता भएको जग्गा जफत हुने ठहर गरेको हो ।

अदालतले उक्त जग्गा प्रकरणमा तत्कालीन भौतिक पूर्वाधारमन्त्री विजयकुमार गच्छदार, तत्कालीन भूमि सुधारमन्त्रीहरु डम्बरबहादुर श्रेष्ठ र चन्द्रदेव जोशीलाई सफाइ दिएको छ । तत्कालीन सचिव दिनेशहरि अधिकारीलाई पनि अदालतले सफाइ दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको १ सय १३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाएको उल्लेख गर्दै २०७६ माघ २२ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । उक्त जग्गा प्रकरणमा अख्तियारले चार पूर्वमन्त्री र तीन पूर्वसचिवसहित एक सय ७५ जनालाई प्रतिवादी बनाएको थियो । उक्त जग्गा प्रकरणमा अख्तियारले एक सय १० जनालाई अभियोगमा संलग्न भएको दाबी गरेको थियो भने ६५ जनालाई जग्गा फिर्ता तथा सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी बनाएको थियो ।