६ फागुन, कर्णाली । कर्णाली प्रदेश सरकारले तत्काललाई साबिककै निर्देशनालयबाट कामकाज गर्ने निर्णय गरेको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण कार्य सम्पन्न भई नयाँ संरचना कायम नहुँदासम्म साबिकबमोजिम निर्देशनालय र कार्यालयले कार्य गर्ने.गराउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए ।
प्रदेश सरकारको चालु आव २०८०/८१ को नीति तथा कार्यक्रममा संरचना सानो बनाउन निर्देशनालयहरु खारेज गर्ने उल्लेख छ । यद्यपि चालु आव २०८०/८१ मा बजेट विनियोजन भइसकेको र नयाँ संरचना कायम नभएकाले साबिककै निर्देशनालय तथा कार्यालय काम गर्ने निर्णय भएको प्रवक्ता जिसीले बताए ।
त्यसैगरी, प्रदेश लेखा नियन्त्रण कार्यालयको कायम मुकायम प्रदेश लेखा नियन्त्रकमा लेखा अधिकृत आठाँै पदका दीपेन्द्र मगरातीलाई जिम्मेवारी दिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।