बैंकिङ

कृषि विकास बैंक र ॐ हस्पिटल बीच सम्झौता

१२ फागुन, काठमाडौँ । कृषि विकास बैंक लि. र ॐ हस्पिटल एन्ड रिसर्च सेन्टर बीच सेवा व्यवसाय बिस्तारका लागि सम्झौता भएको छ । कृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ को समुपस्थितिमा भएको सम्झौता समरोहमा कृषि विकास बैंक लि.का तर्फबाट उपमहाप्रबन्धक श्री यज्ञ प्रकाश न्यौपाने र हस्पिटलका तर्फबाट कार्यकारी प्रमुख यम बहादुर महतले हस्ताक्षर गरेका हुन्

सम्झौता अनुसार बैंकका कर्मचारी र कर्मचारीका परिवारजन तथा बैंकका खातावाल ग्राहकहरुलाई हस्पिटलको ओपिडि सेवाका विभिन्न जाँचहरु, अन्तरङ्ग शैय्या शुल्क, रेडियोलोजी अन्तर्गतका अल्ट्रासाउण्ड, सिटीस्क्यान, म्यामोग्राफी लगायतका समपूर्ण जाँच तथा परिक्षणहरु, प्रयोगशालाका विभिन्न परिक्षणहरु, सबै किसिमका शल्यक्रिया, इण्डोस्कोपी तथा कोलोनोस्कोपी जाँच, इसिजी, एको, इएमजी, पिएफटी, फार्मेसी सेवा, डेन्टल सेवा लगायतको अन्य उपचार सेवामा विशेष छुट दिने व्यवस्था मिलाइएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले नेपालको निजि क्षेत्रको अग्रणी र प्रतिष्ठित स्वास्थ्य उपचार सेवा प्रदायक ॐ हस्पिटलमासँग सेवा व्यवसाय बिस्तार सम्झौता र बैंकका ग्राहकहरु तथा कर्मचारी र परिवारजनले उपचारमा सहुलियत पाउनु सकारात्मक भएको बताए ।

त्यसैगरी ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले तिन दशकदेखी निरन्तर स्तरिय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको ॐ हस्पिटलले एकै छानामुनी आकस्मिक उपचार देखी सघन उपचार सम्म र पेन मेडिसिन र कस्मेटोलोजी लगायत ३७ वटा भन्दा बढी विषयहरुमा विशेषज्ञता सहितको चिकित्सा सेवा उपलब्ध गराउँदै आईरहेको जिकिर गर्नुहुँदै कृषि बिकास बैंकसँग सेवाकालागि सहकार्यगरी अगाडि बढ्न पाउँदा खुशी लागेको बताए ।

२०२४ माघ ७ गते स्थापना भई २०४१ साल देखि निरन्तर बैंकिङ्ग सेवा प्रदान गर्दै आएको कृषि विकास बैंकको हाल देशका ७ वटै प्रदेशका सबै ७७ वटै जिल्लामा २८३ वटा शाखा कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ । बैंकले विभिन्न जिल्लामा एक्सटेन्सन काउन्टरहरु र एटिएम मेसिनहरुबाट पनि सेवा उपलब्ध गराउँदै आएको छ । समयसँगै बढदो डिजिटल प्रयोगलाई ध्यानमा राख्दै बैंकले आफ्नो मुल व्यवसाय कर्जा प्रवाह र जमानत सहित अन्य सेवाहरुलाई पनि डिजिटलीकरण गर्दै लगेको छ। स्मार्ट बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, पिओएस, क्युआर भुक्तानी, डेविट कार्ड, क्रेडिटकार्ड, एलसी, फरेक्स, अनलाइन एकाउण्ट, रेमिट, स्विफ्ट लगायत आफ्ना सबै सेवालाई डिजिटाइज गरी ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

काठमाडौं रामशाहपथ स्थित कृषि विकास बैंक लिमिटेडको मुख्य कार्यालय भएको सम्झौता समारोहमा बैंकका मार्केटिङ तथा सेल्स विभागका प्रमुख वीना शर्मा, वरिष्ठ शाखा प्रमुखहरु कमल ओझा, सुदिल घिमिरे र ॐ हस्पिटलका विजनेश डेभलपमेन्ट म्यानेजर विनोद अधिकारीको उपस्थिति रहेको थियो । सम्झौता मिति २०८० फगुन ११ गते देखि लागू हुनेछ ।