समाचार

सैनिक कमान्ड तथा स्टाफ तालिमको दीक्षान्त

१४ फागुन, काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा नेपाली सेनाले संविधान प्रदत्त जिम्मेवारी निर्वाह गर्ने क्रममा देश तथा विदेशमा बहुआयामिक भूमिका निर्वाह गर्दै आएको बताएका छन् ।

सैनिक कमान्ड तथा स्टाफ कलेजमा सञ्चालित सि.सं.३० कमान्ड तथा स्टाफ तालिमको दीक्षान्त समारोहमा प्रधानसेनापति शर्र्माले समसामयिक घटनाक्रम तथा प्रविधिबारे जानकार रहँदै आफ्नो राष्ट्र तथा संस्थाका हित अनुकूल अनिश्चित समयमा समेत प्रभावकारी योजना तर्जुमा र कार्यान्वयन गर्न सक्नुपर्ने बताए ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजङ्ग बरालले सैनिक कमान्ड तथा स्टाफ कलेज विश्वविद्यालयमा आबद्ध उत्कृष्ट शैक्षिक संस्थाका रूपमा रहेको बताए । रणनीति तथा व्यवस्थापनजस्ता महत्वपूर्ण विषयसम्बन्धी ज्ञान सैनिक संस्थाबाट सबैले सिक्न सक्ने उल्लेख गर्दै उहाँले दीक्षित शिक्षार्थी अधिकृतलाई आफ्नो देश र जनताको सुरक्षा गर्ने जिम्मेवारी निर्वाह गर्न तालिमले पर्याप्त क्षमता विकसित गरेको विश्वास व्यक्त गरे ।

नेपाली सेनाका ५३, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, राष्ट्रिय अनुसन्धान विभागका एक÷एक तथा भारत, पाकिस्तान, कनाइजेरिया, केन्या, मालदिभ्स र दक्षिण कोरियाका एक/एकजनासहित जम्मा ६२ शिक्षार्थी अधिकृतले तालिम पूरा गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनायले जनाएको छ ।

विसं २०४९ मा स्थापित उक्त कलेजबाट हालसम्म नेपाली सेनाका एक हजार एक सय ७३, नेपाल प्रहरीका १५, सशस्त्र प्रहरी बल नेपालका २७, राष्ट्रिय अनुसन्धान विभागका १८, रक्षा मन्त्रालयका एक र विभिन्न राष्ट्रका एक सय १४ गरी जम्मा एक हजार तीन सय ४८ शिक्षार्थी अधिकृत प्रशिक्षित भइसकेका छन् ।

कार्यक्रममा शोधपत्रतर्फ सेनानी उज्ज्वल खड्का र केन्याका ओस्कर एमवीता ओमाहे तथा समग्र तालिममा उत्कृष्ट हुने सह–सेनानी राकेश बस्नेतलाई प्रधानसेनापति शर्मा र उपकुलपति बरालले पुरस्कार प्रदान गरे । विदेशीतर्फ भारतीय सेनाका सेनानी रमेश सङगवान उत्कृष्ट हुनुभयो । कमान्डेन्टस् पेपरतर्फ प्रथम विद्यार्थीलाई शिक्षाधिकृत उपरथी बाबुराम श्रेष्ठले पुरस्कार प्रदान गरे ।