अन्तर्राष्ट्रिय

साइप्रस हुँदै गाजाका लागि सहायता पठाउने तयारी

२६ फागुन, निकोसिया । अमेरिकी परोपकारी संस्था ‘वल्र्ड सेन्ट्रल किचेन’ ले गाजाका लागि साइप्रसको बाटो सहायता पठाउन लागिएको शनिबार बताएको छ ।

गाजाबाट सबैभन्दा नजिकको युरापेली सङ्घको सदस्य राष्ट्र साइप्रसको लार्नाका बन्दरगाहमा तीन साताअघि स्पेनको ध्वजाबाहक जहाज ‘ओपन आम्र्स’ डुबेको थियो ।

“‘वल्र्ड सेन्ट्रल किचेन’को टोली साइप्रसमा मानवीय सहायताका सामानहरू उत्तरी गाजातर्फ जाँदै गरेको डुङ्गामा लोड गरिरहेको छ,” संस्थाले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

“हामी हाम्रो विश्वासिलो गैरसरकारी संस्था साझेदार ‘ओपन आम्र्स’सँग समुद्री सहायता करिडोर खोल्नका लागि हप्तौंदेखि तयारी गरिरहेका छौं जसले हामीलाई यस क्षेत्रमा हाम्रो प्रयासलाई विस्तार गर्न अनुमति दिने विश्वास गरिएको छ,” विज्ञप्तिमा भनिएको छ ।

इजरायल–हमास युद्धको पाँच महिनाभन्दा बढी समय बितिसक्दा पनि गम्भीर मानवीय अवस्थाका कारण केही देशले खाद्यान्न र अन्य सहायता ढुवानी गर्न बाध्य भएको गाजाका जनताका लागि आवश्यक सामग्रीले भरिएको बार्ज निर्माण गर्ने योजना रहेको च्यारिटीले जनाएको छ ।

“गाजामा मानवीय सामुद्रिक करिडोर स्थापना गर्ने प्रयासमा प्रगति भइरहेको छ, र हाम्रो सयौँ टनले भरिएको जहाज प्यालेस्टिनी नागरिकका लागि खाना, पानी र महत्वपूर्ण आपूर्तिको क्षणको सूचनाका लागि पर्खिरहेको छ,” ‘ओपन आम्र्स’ ले सामाजिक सञ्जाल एक्समा भनेको छ ।

युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लेयेनले आइतबार लार्नाबाट सामुद्रिक करिडोर खुल्ने आशा व्यक्त गर्नुभएको छ ।

उहाँले संयुक्त अरब इमिरेट्स (युएई) को सहयोगमा शुक्रबार ‘पाइलट अपरेसन’ सुरु गरिने बताउनुभएको छ यसले ‘गाजाका जनताका लागि सामानको धेरै ढुवानीमध्ये पहिलो’ ढुवानीलाई सुनिश्चत गरेको छ ।

गाजामा कुनै पनि बन्दरगाहहरू सञ्चालनमा छैनन् र अधिकारीहरूले प्रारम्भिक ढुवानीहरू कहाँ जानेछन्, ती इजरायलद्वारा निरीक्षणको अधीनमा रहनेछन् वा कसले सहायता वितरण गर्नेछन् भन्ने बारे केही बताएनन् ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले गाजामा ‘अस्थायी स्टेशन’ स्थापना गर्ने अमेरिकी योजनामा ६० दिन लाग्ने र त्यसमा एक हजारभन्दा बढी अमेरिकी सैनिक संलग्न हुने जनाएको छ ।

हमासले अक्टोबर ७ मा दक्षिणी इजरायलमा गरेको अकल्पनीय आक्रमणबाट गाजा युद्ध शुरु भएको थियो । आक्रमणमा एक हजार १ सय ६० जनाको मृत्यु भएको थियो भने करिब २ सय ४० जनालाई आक्रमणपछि बन्धक बनाइएको इजरायली तथ्याङ्कले देखाउँछ ।

आक्रमणको लगत्तै हमासलाई ध्वस्त पार्ने प्रतिबद्धता व्यक्त गर्दै इजरायलले निरन्तर सैन्य आक्रमण गरेको छ । हमासको नियन्त्रणमा रहेको गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार कम्तीमा ३० हजार ८ सय ७८ व्यक्तिको मृत्यु भएको छ ।

सन् २००५ मा गाजाबाट पछि हटेको तर आफ्नो हवाई क्षेत्र र क्षेत्रीय जलक्षेत्रमा नियन्त्रण कायम राखेको इजरायलले योजनाबद्ध सामुद्रिक करिडोरको ‘स्वागत’ गरेको बताइएको छ ।