समाचार

आज ग्याल्पो ल्होसार मनाइँदै

२८ फागुन, काठमाडौँ । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ ।

नयाँ वर्षका रुपमा शेर्पा समुदायले्र त्येक वर्ष फाल्गुन शुक्ल प्रतिपदामा यो पर्व ग्याल्पो ल्होसार मनाउने गर्छन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।

सोमबार २१५१ औँ ग्याल्पो ल्होसार हो । शेर्पा समुदायले विविध कार्यक्रम गरी ३ दिनसम्म मनाउने गर्दछन् । शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन शुरु गरिएको हो ।

पहिलो दिन बिहान सबेरै उठेर घरमा पूजापाठ गरी र गुम्बामा जाने चलन छ । त्यहाँ गुरुको दर्शन गर्ने तथा आशीर्वाद लिने परम्परा छ । यो दिन अग्ला डाँडामा ध्वजापताका फहराउने पनि चलन छ ।

दोस्रो दिन पारिवारिक जमघट तथा आफन्तसँग भेटघाट गरी मीठा परिकार पकाएर भोज खाने गरिन्छ जसलाई ‘परिवार ल्होसार’ भनिन्छ ।

तेस्रो दिन यो समुदायका मानिस बुद्ध धर्मलाई रक्षा गर्ने विभिन्न धर्मपाल (भैरव, महाकाल आदि) को पूजा गर्छन ।्