समाचार

एमजि मोटर्सको ईभी ग्राहकहरुका लागि पहिलो ईभी चार्जिङ एप सार्वजनिक

२८ फाल्गुण, काठमाडौँ । एमजिको नेपालको लागि आधिकारिक वितरक एवम् आयातकर्ता पारामाउन्ट मोटर्स प्रा.लि.ले पारामाउन्ट चार्जिङ सोलुसन एप सार्वजनिक गरेको छ । यो एपले एमजिको विद्युतीय गाडी चलाउने नेपाली ग्राहकहरूका लागि सुविधाजनक र प्रभावकारी चार्जिङ समाधान प्रदान गर्ने कम्पनीले जनाएको छ ।

एपस्टोर र प्लेस्टोर दुवैमा निःशुल्क रूपमा उपलब्ध यो पारामाउन्ट चार्जिङ सोलुसन एप डाउनलोड गरेर ग्राहकहरूले सजिलैसँग आफ्नो विवरणहरू भरेर साइन अप प्रोसेस पूरा गर्न सक्नेछन् । चार्जिङ्ग शुल्क ʻखल्ती एप’ मार्फत भुक्तानी हुने भएकोले ग्राहकहरूको अनिवार्य खल्ती एप हुन जरूरी हुन्छ । त्यसैले कम्पनीले सबै ग्राहकहरूलाई खल्ती एप डाउनलोड गर्न आग्रह गरेको छ ।

पारामाउन्ट चार्जिङ सोलुसन एपले देशभर रहेका ३० किलोवाट डिसी चार्जिङ स्टेसनका लाईभ अपडेटको साथै चार्जिङ्ग भुक्तानीमा सहजता पु¥याउने छ । यस एपले हालका लागि ३० किलोवाट चार्जर मात्र सपोर्ट गर्ने भएकोले एमजी जेड एस इभी र एमजी फो इभीका ग्राहकहरुलाई विशेष फाइदा गर्नेछ । हालसम्म देशभरमा एमजीका ११ वटा चार्जिङ स्टेसन छन् भने यो संख्या बढाउँदै जाने कम्पनीले जानकारी दिएको छ ।

साथै यस एप अन्तर्गतको आर.एफ.आइ.डी कार्ड मार्फत ग्राहकहरूले देशभरिका कुनै पनि एमजिका ३० किलोवाट चार्जिङ स्टेसनमा आफ्नो सवारीसाधन चार्ज गर्न सक्नेछन् । ग्राहकहरूले आर.एफ.आइ.डी कार्ड कम्पनिबाट लिनको लागि भ्याट सहित ५ सय को वार्षिक सदस्यता शुल्क तिर्नुपर्नेछ । यो शुल्क चार्जिङ मसिनहरु र स्टेसनहरूको मर्मतमा खर्च गरिने र प्रभावकारिता र दक्षता बढाउने कम्पनीले जनाएको छ ।

साथै यो एपले २४ घन्टा चार्जिङ सोलुसनहरु उपलब्ध गराइ ग्राहकहरुको चार्जिङ्ग सम्बन्धी समस्यालाई सम्बोधन गर्ने कम्पनीले जनाएको छ । एमजी आर.एफ.आइ.डी कार्ड रिक्वेस्ट गर्न ग्राहकहरुले अनलाइन र अफलाइन दुवै तरिकाले फारम भर्न सक्नेछन् ।