अन्तर्राष्ट्रिय

जर्मनीद्वारा हरित उद्योगका लागि प्रमुख अनुदान योजना सुरु

२९ फागुन, फ्र्याङ्कफर्ट । जर्मनीले मङ्गलबार ‘नवप्रवर्तनशील’ मल्टी–बिलियन–युरो अनुदान योजना सुरु गरेको छ । यसको उद्देश्य युरोपको शीर्ष अर्थतन्त्रमा औद्योगिक उत्पादनलाई थप जलवायु अनुकूल बनाउने टर्बोचार्जिङ लगानी गर्नु हो ।

ऊर्जामन्त्री रोबर्ट ह्याबेकले कार्यक्रमको पहिलो चरणमा चार अर्ब युरो (चार अर्ब ४० करोड अमेरिकी डलर) को लगानी गरिने जानकारी दिए । यसमा ग्लास, स्टिल र कागज बनाउनेजस्ता ऊर्जा–गहन क्षेत्रका कम्पनीहरूलाई उत्सर्जन कटौती गर्न हरित प्रविधि परियोजनाको प्रस्ताव प्रस्तुत गर्न आमन्त्रण गरिनेछ ।

“हामी यसलाई प्रस्तुत गर्ने पहिलो औद्योगिक मुलुक हौँ”, ह्याबेकले पत्रकार सम्मेलनमा भने । उनले उक्त योजनालाई ‘अभिनव र नयाँ उपकरण’ भने । उनका अनुसार यसले निष्क्रियतालाई कम गर्छ, प्राविधिक आविष्कारलाई प्रवर्द्धन गर्छ र जर्मनीलाई आफ्नो जलवायु लक्ष्यहरूमा पुग्न सहयोग गर्छ ।

उनले ‘जलवायु संरक्षण सम्झौता’ १५ वर्षसम्म चल्ने जानकारी दिँदै सबैभन्दा कम लागतमा आफ्नो उत्पादन प्रक्रियालाई डिकार्बोनाइज गर्नसक्ने कम्पनीहरूलाई सरकारले अनुदान दिने बताए । मन्त्री ह्याबेकले समग्र कार्यक्रमका लागि ‘मध्य–दुई अङ्क’ अर्ब युरोको राशि छुट्याइएको बताए । उन्नाइस अर्ब युरोको अनुदानका लागि बिडिङको अर्को चरण शरद ऋतुमा खुल्नेछ ।

जर्मनीको महत्त्वपूर्ण उत्पादन उद्योगले मन्दीको सामना गर्नुपरिरहेको, मुद्रास्फीति, कमजोर वैश्विक माग र युक्रेनमा रुसको युद्धले सस्तो ग्यासको आयातमा पहुँच बन्द गरेपछि ऊर्जाको बढ्दो लागतको सामना गर्नुपरेको अवस्थामा यो योजना आएको हो ।

“अर्थतन्त्र र निश्चितरूपमा जलवायु संरक्षणका लागि प्रोत्साहनका रूपमा हामीलाई यसको आवश्यकता छ”, मन्त्री ह्याबेकले भने ।

अर्थ मन्त्रालयका अनुसार यो योजनाबाट सन् २०४५ सम्म उद्योगबाट कार्बन उत्सर्जनलाई ३५ करोड टनसम्म घटाउने अपेक्षा गरिएको छ । जर्मनीको लक्ष्य सन् २०४५ सम्म कार्बन तटस्थ बन्नु हो ।