२९ फागुन, कैलाली । धनगढीस्थित फाप्ला मैदानमा जारी जय नेपाल कप २०८० अन्तर क्याम्पस प्रदेश स्तरीय क्रिकेट प्रतियोगितामा आज भएको खेलमा कैलालीको दुर्गालक्ष्मी बहुमुखी क्याम्पस र बैतडीको त्रिपुरा सुन्दरी बहुमुखी क्याम्पस विजयी भएका छन् ।
नेपाल विद्यार्थी सङ्घ कैलालीको आयोजना र शिवपुरी युवा क्लबको प्राविधिक व्यवस्थापनमा भइरहेको प्रतियोगिताअन्तर्गत आजको खेलमा जित हात पार्दै दुवै टोली सेमिफाइनलमा पुगेका छन् ।
पहिलो खेलमा त्रिपुरा सुन्दरी बुहुमुखी क्याम्पसले डोटी बुहुमुखी क्याम्पस र महाकाली बहुमुखी क्याम्पसमाथि एक सय १७ रनको फराकिलो जित हात पारेको छ । पहिले ब्याटिङ गर्दै त्रिपुरा सुन्दरीले निर्धारित २० ओभरमा पाच विकेट क्षतिमा एक सय ७८ रनको योगफल बनायो । टीमका लागि प्रकाश पाण्डेयले अर्धशतकीय पारीसहित ७२ रन बनाए । टिमका लागि राज विसी ३९ र राजु रिजालले ३० रन बनाए । विशाल लक्ष्य पछ्याएको महाकाली बहुमुखी क्याम्पस भने १३ दशमलव ४ ओभरमा सबै विकेट क्षतिमा ६१ रनमा अलआउट भयो । टिमका लागि निशान खनिया र सागर घिमिरेले १४/१४ रन बनाउनु बाहेक अन्यले दोहोरो रन अङ्क छुन सकेनन् । त्रिपुरा सुन्दरीका लागि निराजन गौतमले तीन र युवराज खड्काले दुई विकेट लिए ।
खेलमा त्रिपुरा सुन्दरीका प्रकाश पाण्डेय “म्यान अफ द म्याच” भए । उनले नगद रु दुई हजारसहित ट्रफी प्राप्त गरे । त्यस्तै दोस्रो खेलमा दुर्गालक्ष्मी बहुमुखी क्याम्पसले डोटी बहुमुखी क्याम्पसलाई ५२ रनले हरायो ।
पहिले ब्याटिङ गर्दै दुर्गालक्ष्मीले निर्धारित २० ओभरमा सात विकेट क्षतिमा एक सय ९५ रन बनायो । टिमका लागि केशव डिसीले ६२ रनको पारी खेले । खगेन्द्र जोशीले ४१ र सुजन गौतमले २५ रन बनाए । डोटीका लागि अनिल पार्कीले तिन विकेट तथा सन्जय बोहोरा र ह्यद विडारीले दुई/दुई विकेट लिए ।
एक सय ९६ रनको लक्ष्य पछ्याएको डोटी बहुमुखी क्याम्पसले १९ दशमलव पाँच ओभरमा सबै विकेट क्षतिमा एक सय ४३ रनमा आलआउट भयो । टिमका लागि आयुष द्वारीयाले ३० रन र ह्यद विडारीले २० रन बनाए । दुर्गा लक्ष्मीका लागि सुशील साउदले चार विकेट लिँदा लक्ष्मण कडायतले दुई विकेट लिए । खेलमा दुर्गा लक्ष्मीका केशव डिसी “म्यान अफ द म्याच” भए । उनले नगद दुई हजार सहित ट्रफी प्राप्त गरे ।
प्रतियोगिताको विजेताले तीन लाख र उपविजेताले एक लाख नगद सहित ट्रफी, पदक र प्रमाणपत्र पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार, उत्कृष्ट बलर र ब्याटरले जनही १५ हजार, उदयमान खेलाडीले नगद १० हजार र म्यान अफ द म्याचले जनही २ हजार, ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
