३ चैत, काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहले पुष्प व्यवसायीको नीतिगत समस्या समाधानका लागि कुनै पनि कसर बाँकी नराख्ने बताएकी छन् ।
यही चैत १ देखि भृकुटीमण्डपमा सुरु भएको २५औँ पुष्प मेलाको आज स्थलगत अवलोकन गर्दै मन्त्री ज्वालाले यस क्षेत्रका व्यवसायीको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरिन् । मेलामा एक करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ ।
फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजना तथा पुष्प विकास केन्द्रको सहआयोजनामा सुरु भएको उक्त मेला आइतबारसम्म चल्ने छ ।
मेला अवलोकनका लागि सर्वसाधारणका लागि एक सय ५० र विद्यार्थीका लागि एक सय प्रवेश शुल्क तोकिएको छ । २५औँ फ्लोरा एक्पो ‘स्वच्छ वातावरण तथा आर्थिक सम्वृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने मुख्य नाराका साथ सुरु भएको हो ।
विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४३ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ । नेपालमा हाल व्यावसायिकरूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ ।
विसं २००७ देखि सुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको छ । कात्तिकदेखि फागुनसम्म विभिन्न चाडपर्व र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गर्दछ । नेपालमा करिब एक सय ५७ हेक्टर क्षेत्रफलमा सात सय व्यवसायीले फूलको खेती गर्दछन् वार्षिक करिब रु तीन अर्ब सात करोडको फूलको कारोबार हुने गरेको छ ।