समाचार

पूर्वाधार-रोजगारी सिर्जनाका क्षेत्रमा कोषको लगानी बिस्तार गर्नुपर्नेमा अर्थमन्त्री पुनको जोड

४ चैत, काठमाडौँ । पूर्वाधार र रोजगारी सिर्जनाका क्षेत्रमा कोषको लगानी बिस्तार गर्नुपर्नेमा अर्थमन्त्री बर्षमान पुनले बताए । नागरिक लगानी कोषको ३४औं वार्षिकोत्सव कार्यक्रमको आइतबार उद्घाटन गर्दै अर्थमन्त्री पुनले सो कुरा बताएका हुन् ।

हिजो लगानी गर्दा केही कमी कमजोरी भएको छ भने त्यसलाई समीक्षा गर्नु पर्ने धारणा राख्दै उनले कोषको बिज्ञ सञ्चालक, कोष ब्यवस्थापकले त्यसमा काम गर्ने आशा व्यक्त गरे । १२ सय मेगावाटको बुढीगण्डकी जलबिद्युत आयोजनामा ३ खर्व भन्दा बढी लगानी लाग्ने भएकोले उक्त आयोजनामा कोषको सवै फण्ड परिचालन गर्दा पनि नपुग्ने देखिएको भन्दै उनले भने,‘सरकारी प्राथमिकताका यस्ता आयोजनामा केही मात्रामा भए पनि कोषले लगानी गर्नुपर्छ । यस प्रकारका आयोजनाहरुमा लगानी गर्ने कार्यलाई समेत कोषले प्राथमिकता दिनुपर्छ ।’
१० हजार मेगावाटको विद्युत बजार सम्बन्धमा प्रधानमन्त्रीज्युको भारत भ्रमणको समयमा सम्झौता भईसकेको बताउँदै अर्थमन्त्री पुनले भने, ‘६०० मेगावाट बिद्युत बिक्री गर्दा १६ अर्ब रुपैयाँ आएको छ भने १० हजार मेगावाट बिद्युत बिक्री गर्न सकेमा ४÷५ खर्बको बिद्युत निर्यात गर्न सकिन्छ ।’

अर्थमन्त्री पुनले सरकारले प्राथमिकताको क्षेत्र निर्धारण गरेको बताउँदै कोषले पनि त्यस्ता क्षेत्रमा लगानी गर्नुपर्ने धारणा राखे । सेयर बजार सम्बन्धी कार्य गर्ने कोषको क्षेत्र रहेको भन्दै पछिल्लो समय सेयर बजार सुधारतर्फ जान थालेको उनले बताए ।

सेयर बजारको क्षेत्रमा सुधार गर्न सरोकारवालाहरुसँग सुझाव मागिसकिएको, सेयर बजारमा देखिएको अफ्ठ्यारा मापदण्डहरुलाई परिमार्जन गर्ने विषयमा छलफल भईरहेको मन्त्री पुनले बताएका छन् । यसमा रहेका नीतिगत समस्यालाई सहज बनाउदै लगिने उनको धारणा थियो ।