समाचार

गृहमन्त्री लामिछानेलाई बदनाम गर्न खोजियोः अध्यक्ष ओली

६ चैत, धनगढी । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेर बदनाम गराउन खोजेको आरोप लगाए ।

आज प्रेस चौतारी कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सहकारीसँग कुनै सम्बन्ध नै नभएका लामिछानेलाई जबरर्जस्ती बदनाम गराउन खोजिएको दाबी गरे । लामिछानेको सहकारीसँग कुनै सम्बन्ध नभएको भन्दै उनले छानबिनमा कुनै प्रभाव नपर्ने जिकिर गरे । उनले सहकारीपीडितले चाँडै न्याय पाउने समेत उल्लेख गरे । “कुनै मन्त्री वा सांसदविरुद्ध उजुरी पर्दैमा पद नरहने भए मन्त्री र सांसद सबै खाली हुने अवस्था हुने थियो”, उनले भने ।

उनले प्रदेश सरकारको भागबण्डा र कम्युनिष्ट पार्टीबीचको एकीकरणबारे अनुमानका भरमा प्रतिक्रिया दिन नहुने टिप्पणी गरे । सोमबार एमाले डडेल्धुराको नवौँ अधिवेशन उद्घाटन गरेर धनगढी आइपुगेका भएका ओली आज काठमाडौँ फर्किएका हुन् ।