७ चैत, काठमडौँ । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहँदा आज बुधबार देशका केही भूभागमा वर्षाको सम्भावना रहेको छ ।
देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी र मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित छिटफुटदेखि हल्का वर्षा, कोशीको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा छिटफुटदेखि हल्का हिमपात भइरहेका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार दिउँसो कोशी,मधेश, बागमती र गण्डकी प्रदेशसहित पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । यी प्रदेशका थोरै स्थानमा साथै बाँकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित सामान्य वर्षाको सम्भावना छ । यस्तै तीनै प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहने र बाँकी भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले बताको छ ।