समाचार

पर्सामा नागरिकताको सम्पूर्ण विवरण वडा कार्यालयमा प्रविष्ट गराइने

१५ चैत, पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले केन्द्रीय नागरिकता सूचना व्यवस्थापन प्रणाली आजदेखि कार्यान्वयनमा ल्याएको छ । सङ्घीय सरकारको नीतिअनुसार नै कार्यालयले यो सेवा कार्यान्वयनमा ल्याएको हो । पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुुसालले आजैदेखि केन्द्रीय नागरिकता सूचना व्यवस्थापन प्रणालीको सुरुआत गरेको जानकारी दिए ।

‘‘यसअघि नागरिकता सूचना व्यवस्थापन प्रणाली अन्तर्गत जिल्लामा नयाँ नागरिकता तथा प्रतिलिपी लिनेको विवरण अनलाइनमा प्रविष्ट गर्ने गरिन्थ्यो,’’ उनले भने,‘‘अबदेखि वडा कार्यालयले नागरिकको सिफारिस दिँदा नै केन्द्रीय नागरिकता सूचना व्यवस्थापन प्रणालीमा नागरिकता बनाउन चाहनेको सम्पूर्ण विवरण अनलाइनबाटै प्रविष्ट गर्नुपर्नेछ,’’

उनले केन्द्रीय नागरिक सूचना व्यवस्थापन प्रणालीमा प्रविष्ट गराउने विवरणको विषयमा पर्सामा रहेका सबै स्थानीय तहका वडा कार्यालयलाई अभिमुखीकरण कार्यक्रम गर्ने तयारी गरिरहेका बताए । वडा कार्यालयले नागरिकता सम्बन्धित प्रविष्ट गरेका विवरण रुजु गरेर जिल्ला प्रशासनले नयाँ नागरिकता जारी गर्न छिटोछरितो हुने प्रमुख जिल्ला अधिकारी भुसालले जानकारी दिए ।

‘‘यसले एकातर्फ जिल्ला प्रशासन कार्यालयमा अनिवार्य रुपमा अनलाइन प्रविष्ट गराउनुपर्ने बाध्यताको अन्त्य हुनेछ । अर्काेतर्फ जिल्लामा हुने भीड पनि न्यूनीकरण गर्नेछ,” उनले भने,‘‘सो सेवा लागू भएसँगै सेवाग्राहीले पहिलाभन्दा सहज ढङ्गले नागरिकता प्राप्त गर्न सक्नेछन् ।’’ यसअघि वडा कार्यालयले नागरिकता बनाउने सेवाग्राहीको आवश्यक कागजी प्रक्रिया पुरा गरेर जिल्ला प्रशासन कार्यालयमा ‘म्यानुअल’ रुपमा नै सिफारिस गर्ने गर्दथे ।