समाचार

उद्देश्य एउटा काम अर्काे हुँदा सहकारीमा समस्या आया मन्त्री अधिकारी

१९ चैत, ललितपुर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले उद्देश्य एउटा काम गर्ने अर्काे हुँदा सहकारीको समस्या आएको बताएका छन् । राष्ट्रिय सहकारी महासङ्घ लिमिटेड नेपालद्वारा आयोजित ६७औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले सहकारीप्रति वितृष्णा जगाउन हुँदैन भने । “सहकारी अभियानमा जोडिएका लाखाँै शेयर सदस्यलाई निराशा हुन दिदैनौँ । अहिलेको सरकारले न्यूनतम साझा कार्यक्रममा सहकारीको समस्या समाधान गर्ने कुरा ल्याएको छ । हाम्रो विकासको संरचनालाई आधार मान्दा यसैबाट जानुपर्ने देखिन्छ,” मन्त्री अधिकारीले भने ।

कागजी काम धेरै गर्ने तर व्यवहारमा उतार्ने काम नहुँदा सहकारीमा समस्या देखिएका छन् भन्नुहुँदै उहाँले अहिले देखिएका समस्या समाधानका लागि आन्दोलनकारीसंग वार्ता पनि गरिएको बताए । “सहकारीभित्र देखिएका समस्या समाधान गर्न टोली बनाएर जानुपर्छ, नयाँ कानुन ल्याउनुपर्छ भन्ने पनि हाम्रो सोच छ । सरकार, सहकारी र समुदाय मिलेर समस्या समाधानमा लाग्नुपर्छ । केके आधार तय गर्नुपर्छ हामी गर्न तयार छौँ । कमजोरी सहकारीका शेयर सदस्यहरुको पनि छ,” उनले भने ।

राष्ट्रिय सहकारी महासङ्घका पूर्वअध्यक्ष तथा पूर्वमन्त्री केशवप्रसाद बडालले सहकारीमा अहिले देखिएको समस्याले सहकारी क्षेत्रलाई शुद्धिकरण गर्ने समय भएको जनाउ दिएको बताए । “दर्ता गर्दैखेरि लुट्ने ध्येय राखेर दर्ता भएका सहकारी संस्था र सहकारी र कम्पनीको फरक छुट्याउन नसक्ने नेताका कारण समस्या भएको हो । एउटै मान्छेले धेरै ठाउँमा संस्था खोलेको छ, यसमा दोषी सरकार हो । सहकारी सङ्घ, महासङ्घ हैन । सबै संस्था खराब हैनन्,” उनले भने ।

महासङ्घका पूर्वअध्यक्ष तथा पूर्वगृहराज्यमन्त्री दीपकप्रकाश बास्कोटाले सहकारीको समस्याको पहिचान गर्दै त्यसलाई समाधान गर्ने बाटो खोज्नुपर्ने र सरकारले त्यसलाई सहजीकरण गरिदिनुपर्छ भन्नेमा जोड दिए । “सहकारीलाई छुट्टै नियमन गर्नुपर्छ । तालिम केन्द्र कलेजहरुको स्थापनाका साथै विश्वविद्यालयको स्थापना गरिनुपर्छ । सहकारीको विशिष्ट कार्यक्षेत्र सरकारद्वारा निर्धारण गरिनुपर्छ । सहकारीको ब्यानरमा ठगी गर्ने पद्धतिलाई रोक्ने व्यवस्था छैन । ४७ वटा ऐन संशोधन गर्नुपर्छ भनेर महासङ्घले पाँच÷सात वर्ष भइसकेको छ,” उनले भने ।