समाचार

जनतालाई उत्साहित बनाउनुपर्छ: मुख्यमन्त्री जम्कट्टेल

१९ चैत, मकवानपुर । बागमती प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशको समानुपातिक पूर्वाधार विकासमा सबै नागरिकलाई समान अवसरका साथ सहभागी गराउँदै आर्थिक समृद्धितर्फ डो¥याउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

प्रदेशसभाको बैठकमा प्रदेशसभा सदस्यहरुको प्रश्नको जवाफ दिनुहुँदै उहाँले सरकारले प्रदेशहरुका सबै जिल्लामा राष्ट्रिय गौरवको आयोजना, शिक्षा, स्वास्थ्य कृषिको उत्पादनलाई निष्पक्ष र पारदर्शी ढङ्गबाट बजेट र योजना कार्यान्वयन गर्ने जानकारी दिए उनले मुलुकमा बढ्दै गएको राजनीतिक अस्थिरताले राष्ट्रियतामाथि खतरा उत्पन्न हुने चिन्ता व्यक्त गदै संसद्मा रहनुभएका सबै दलले राष्ट्रको स्वाभिमानप्रति इमान्दारीका साथ लाग्नुपर्ने धारणा व्यक्त गरे । उनले अहिले जनतालाई निराश होइन, विश्वास दिलाएर विकासको पूर्वाधारले उत्साहित बनाउनुपर्नेमा जोड दिए ।

संसद्मा रहेका दलहरुले जनताप्रति जिम्मेवार जवाफदेही बन्नुपर्ने उल्लेख गदै उनले प्रदेश सरकारको आफ्नो सीमित स्रोत र साधनबाट विपन्न नागरिकको जीवनस्तरका आर्थिक सुधार ल्याई स्वास्थ्य उपचार सेवालाई सहजीकरण गर्नेतर्फ सरकार त्यसतर्फ केन्द्रित हुने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री जम्कट्टेलले प्रमुख प्रतिपक्ष र प्रतिपक्ष दलहरुसँग आफूले सम्मानजनक ढङ्गबाट व्यवहार गर्ने र उहाँहरुको सुझाव र सल्लाहलाई आत्मसात् गर्दै प्रदेशलाई सुशासन, भ्रष्टाचारमुक्त र जनतालाई शान्तिसुरक्षा प्रदान गर्न सरकारले निर्णय लिने बताउनुभयो ।

उक्त बैठकमा सभामुख भुवनकुमार पाठकले प्रदेश प्रमुख कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् विस्तार र पुनर्गठन एवम् कार्यविभाजनसम्बन्धी पत्र पढेर सुनाएका थिए । यसैगरी, उनले संसद्को कार्यव्यवस्था परामर्श समितिको सदस्यमा रहेका कुन्दनराज काफ्लेको सट्टा गोविन्दप्रसाद लम्साललाई नाम सिफारिस गरेअनुसार आजै बसेको प्रदेशसभाको बैठकले अनुमोदन गरेको छ ।प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको अर्को बैठक अनिश्चितकालका लागि स्थगित गरे ।