विचार/ब्लग

कृषि क्षेत्रमा युवालाई समेट्न सके देशमा समृद्धि निश्चित

बसन्ति धामी /नेपाल प्राकृतिक रुपमा सुन्दर मात्र होइन् यसका साथसाथै यहाँ प्रकृतिले बरदान स्वरुप नै भिन्न भिन्न विशेषताका साथ नेपाललाई बनाएको छ । नेपालमा भुगोल अनुसार विविध किसिमको हावापानी त्यहि हावापानी अनुसार विभिन्न प्रकारका खाद्यान्न, फलफुल, रैथाने बाली, तरकारी, विभिन्न प्रकारका बहुमुल्य जडिबुडि उब्जाउ हुन्छन् । नेपाल कृषि प्रधान देश हो । यहाँका अधिकाशँ मानिस कृषि पेसामा आश्रित छन् । नेपाल भौगोलिक रुपमा हिमाल, पहाड, तराई मिलेर बनेको छ । हिमाल क्षेत्र पशुपालनका लागि महत्वपुर्ण क्षेत्र हो भने पहाडि क्षेत्र फलफूल, जडिबुडिका लागि यस्तै तराईलाई त अन्नको भण्डार नै भनेर भनिन्छ ।
यस्तो प्रकृतिले नै प्राथमिकतामा राखेको नेपाल आर्थिक रुपमा समृद्ध हुन कुनै त्यस्तो संरचना बनाउन नै आवश्यक छैन छ त केवल भएको स्रोत साधनलाई प्राविधिक रुपमा दिर्घकालीन सोचका साथ प्रयोग गर्न । नेपालमा अवसर नै अवसर देखिरहेका विदेशी सुसम्पन्न देशहरुका अगाडि हामीहरुले आफुसंग भएका स्रोत साधनका बारेका अज्ञात भएर बस्नु भनेको मुर्खतापन जस्तै हो । नेपालीहरु आफुसंग भएको सुनको कचौरामा बाहिर देशहरुसंग भिक मागिरहेका हुन्छन् । राज्यले ठोस नीति बनाउन नसक्दा कृषि अर्थात कुनै पनि क्षेत्रको विकास कुरामा मात्र सीमित छ ।
कृषि बाटै आर्थिक, सामाजिक, सास्कृतिक रुपमा आत्मनिर्भर बनाउन सकिने नेपाललाई राज्यले गरेको वेवास्था तथा कमजोरी कारण नेपालको अर्थतन्त्र बार्षिक रुपमा खस्किदै गईरहेको छ ।
कृषिका लागि नेपालमा जस्तो अवसर विश्वका कुनै पनि देशमा छैन । तर कृषि क्षेत्रमा रहेको अवसरलाई चिन्न नसक्दा भनम् या बनाइका नीति नियम राज्यले कार्यान्वयन गर्न नसक्दा कृषि क्षेत्रप्रतिको आकर्षण, खेती योग्य जमीन बर्षेनी घट्दै गईरहेको छ ।
राज्यले कृषि क्षेत्रमा युवाहरुलाई आकर्षण गर्नका लागि ठोस कदम चाल्नु त परको कुरो कृषि क्षेत्रमै काम गर्छु भनेर लागेका किसानका हक हितका निम्ति समेत कुनै पहल गरेको देखिदैन् । किसानका लागि भनेर आएको मल, बिउँ पुन भारत तिर नै पुग्छ । यसका मुख्य दोषी भनेकै राज्य देखिन्छ । समयमा किसानले मल, बिउ नपाउनु, बिचौलियाहरुका कारण उत्पादन गरेका खाद्यान्न बाली, तरकार फलफूल आदिको मुल्य नपाउनु, बजार नपाउनु जस्ता समस्याले गर्दा किसानहरुलाई नै कृषि प्रति उपेक्षा उत्पन्न गराई दिएको छ । किसानका लागि गरिएका कार्यक्रमहरु भए वा भएनन्, किसानहरुले पाउनु पर्ने राहत पाए पा पाएनन्, किसानका समस्या, उनीहरुको जीवनस्तर, आर्थिक अवस्थाका बारेमा राज्यले नै अनुगमन गरेर कार्यन्वयन गर्नुको सट्टा वेवास्ता गर्दा कृषिमा गरेको लगानी पनि खेर गईरहेको छ ।
विदेशी मुलुकबाट आयातित खाद्यान्न वस्तु सजिलै रुपमा तराई, पहाड, हिमाली क्षेत्रमा पुग्नुका साथै बजार पनि पाउनु तर नेपाली किसानले उत्पादन गरेका वस्तुले उचित मुल्य नपाउनु, बजार नपाउनु, बजारमा पुग्न नपाई कुहिएर जानु जस्ता समस्याले नै स्पष्ट पार्छ कि राज्य कति गैरजिम्मेवार छ भन्ने कुरा ।
नेपाली किसानहरुले उत्पादन गरेका अर्गानिक वस्तु तथा पदार्थहरुमा गुणस्तरमापन केन्द्रले प्रश्न गर्नु तर विदेशबाट आयातित विशादीयुक्त खाद्यान्नमा गुणस्तरको मापन नगरी, विना प्रश्न बजारमा नेपाली बजारमा बिक्रिका लागि राखिन्छ । यस्ता कुराहरुको मुल्याङ्कन गर्ने हो भने राज्यले नेपाली जनताको जीवनमाथि खेलबाड गरेको तथा नेपाली किसानले उत्पादन गरेका वस्तुप्रति खिल्ली उडाएको सहजै महसुस गर्न सकिन्छ ।
कृषिमै शत प्रतिशत लगानी गरेर कृषिबाटै आर्थिक रुपमा आत्मनिर्भर बनाउन सकिने नेपाललाई कृषिलाई नै वेवास्ता गर्दा अर्थतन्त्रमा ठुलो धक्का लागेको छ । समयमै यसको सामाधान गरिएन भने कृषि प्रधान भनेर चिनिने नेपाल निकट भविष्यमै भोकमरिको चपेटामा पर्न सक्छ भन्ने कुरालाई नकार्न सकिदैन् ।
दैनिक रुपमा नेपाली युवाहररु बहिरिनु, खेती योग्य भुमि बाझो छोड्नु, अर्बौको खाद्यान्न बाहिर देशबाट आयात हुनु जस्ता मुख्य समस्यालाई तथा चुनौतिलाई समयमै राज्यले चासोको विषय बनाएन भने निकट भविष्यमा नेपालको अर्थतन्त्र, जनशक्तिको अवस्थाबारे कल्पना भन्दा बाहिरको दुर्घटना खेप्नु पर्ने अवस्था आउन सक्छ ।
नेपालमै एग्रीकल्चर अध्ययन गरेका युवा दक्ष जनशक्तिहरु वाहिर देशमा गएर कृषि क्षेत्रमै काम गर्छन् तर नेपालमा किन गर्न चाहादैनन्रु राज्यले किन यो विषयमा चासो देखाईरहेको छैनरु् किन नेपालमै कृषि क्षेत्रमा काम गर्न प्रत्साहन गरिदैनरु पुर्खौ देखि कृषि पेसामा लागेका किसान परिवारका छोराछोरीहरु पनि किन खेती योग्य जमीन बाझोँ छोडेर विदेश पलायन भइरहेका छन्रु यस विषयमा राज्यले अध्ययन गरेर, ठोस नीति बनाएर कार्यन्वयन गर्न एकदमै नितान्त आवश्यक छ ।
नेपालमा उत्पादित वस्तुलाई निर्यात गर्न सक्यौ भने नेपाल आर्थिक रुपमा आत्मनिर्भर बन्न समय लाग्दैन् त्यसका लागि तीनै तहका सरकारले सहकार्य गरेर कृषि क्षेत्रमा आवश्यक कार्यक्रम गरेर कार्यन्वयन भए नभएको अनुगमन गर्न आवश्यक छ ।
नेपाली किसानलाई समयमै मल, बिउँ, सिचाई, आधुनिक कृषि उपकरण उपलब्ध गराउने हो भने पनि कृषिमा देखिएका केहि समस्याहरु सामाधान हुन्छन् । नेपाली किसानले बर्षेनी उन्नत जातको बिउँ, मल समयमा नपाएर हारगुहार गरिरहेका हुन्छन् । छ हजार भन्दा बढी नदिनाला भएको, विश्वको जलस्रोतमा दोस्रो, एसियामै जलस्रोतमा पहिलो धनी देश नेपाल, यहाँका किसानले आकासे पानीको भरमा खेती गरिरहेका हुन्छन् यसैबाट स्पष्ट हुन्छ हामीसंग भएका स्रोत साधनहरुको हामीले सहि सदुपयोग नै गर्न सकेका छैनौँ वा जानेका छैनौँ । नेपालमा यस्तो खाद्यान्न उत्पादन गर्न सकिन्छ जुन विश्वका कुनैपनि देशमा उत्पादन नै गर्न सकिदैन् । नेपालीमा उत्पादन गर्न सकिने खाद्यान्नलाई उत्पादन गरेर विश्व बजारमा निर्यात गर्न मात्र सक्यौ भने ब्राण्ड नेपाल भनेर विश्वसामु चिनिन समयनै लाग्दैन् ।
सम्भावना नै सम्भावना रहेको देशका नागरिक भएर पनि हामी विश्वसामु किन पछाडि परिरहेका छौ भन्ने विषयमा राज्यसंग प्रश्न गर्न आवश्यक छ । नेपालको अस्थिर राजनीतिक प्रवृतिले पनि कुनैपनि क्षेत्रको विकास हुन सकिरहेको छैन । वर्तमान समयका जल्दोबल्दो समस्या युवा पलायनको अवस्थालाई नै राज्यले वेवास्था गरिरहेको छ जसको परिणाम कल्पना गरेको भन्दा पनि बाहिर डरलाग्दो छ । देशमा खम्बा, विकासका आधार, आशाका परिकल्पना युवा दिनानुदिन वाहिर पलायन हुँदा हामीसंग भएका अथाह स्रोतसाधन प्रयोग गर्न पनि हामीले सकिरहेका छैनौँ ।
कृषि क्षेत्रमा युवाको आकर्षण शुन्य नै छ भन्दा पनि कुनै फरक पर्दैन । आकर्षण शुन्य हुनुमा राज्य नै दोषी देखिन्छ । उचित नीति नियमको अभाव, युवाहरुलाई कृषिमा लाग्न राज्यले प्रोत्साहन गर्न नसक्नु, नेपाली किसानप्रति राज्यले गरेको गैरजिम्मेवारपुर्ण व्यवहार, विचौलियाहरुको प्रभाव, नेपालमै उत्पादित वस्तुले बजार नपाउनु, कामको सम्मान नहुनु, आधुनिक यान्त्रीकरणको अभाव, बनाएका कार्यक्रम कार्यन्वयन भए नभएको अनुगमन नहुनु आदि जस्ता समस्याले गर्दा कृषि क्षेत्रमा युवाको आकर्षण शुन्य छ । जसको परिणाम निकट भविष्यमा देखिन्छ ।
कृषि मैत्री उद्योग खोल्नुपर्छ, स्थानीय तहले नै यो कुरामा जोड दिनुपर्छ । खाद्यान्न आयातमा राज्यले रोक लगाउनुपर्छ । बजारमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्छ । किसानको जीवनस्तरलाई राज्यले नजिकबाट नियालेर उनीहरुको जीवन गुणस्तरीय बनाउनमा लाग्नुपर्छ । युवाहरुलाई स्वदेशमा नै बसेर कृषि क्षेत्रमा आकर्षण गर्नका लागि प्रोत्साहन गर्नुपर्छ । हामीसंग भएका अवसरहरु प्रयोग गर्नबाट हामी चुक्नु हुन्न यसका लागि राज्यले ठोस नीति अवलम्बन गर्नुपर्छ । विदेश पलायन भईरहेका युवाहरुलाई स्वदेशमै समयमै स्वरोजगार बनाउनमा राज्य लाग्नु पर्छ । कुनै पनि नीति नियमलाई कागजमा मात्र सीमित राख्नु हुदैन कार्यान्वयनतिर गर्न तिर जानुपर्छ । कृषिमा प्रयाप्त लगानी गर्नुपर्छ । परम्परागत कृषिलाई आधुनिक बनाउनु पर्छ ।
कृषि क्षेत्रमा जोड दिएर युवालाई कृषिमा क्षेत्रमा लाग्न प्रेरित गर्ने हो भने सुखी नेपाली समृद्ध नेपाल बनाउन सकिन्छ ।