२९ बैसाख, काठमाडौं । नेपाली काँग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सहकारी ठगीसम्बन्धी छानबिन गर्ने समिति नबनाईए संसद चल्न नदिने निष्कर्ष निकालेको छ ।
आज काँग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले रवि लामिछानेको सहकारी ठगी सम्बन्धी समिति नबनाईए सँसद कुनैपनि हालतमा चल्न नदिने निर्णय गरिएको हो ।
नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले भने, ‘पार्टी सभापति, पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा अहिलेको संसद्मा भइरहेको गतिरोध अरु विभिन्न विषयहरूको बारेमा हामीले छलफल गर्यौं । हिजो संसद्मा हामीहरूले सभामुखसँग पनि र अन्य दलहरूसँग पनि छलफल गरेर संसद्को गतिरोध पनि अन्त्य होस्, हाम्रो माग पनि सम्बोधन होस भनेर एउटा सदासयता, लचकता राख्दाराख्दै पनि सरकारले जुन खालको रवैया प्रस्तुत गर्यो र सम्माननीय सभामुखले पनि जसरी संसद्को अवरोध अन्त्य गर्नका निम्ति अझ बढी संवेदनशील हुनुपर्ने हो तर प्रतिपक्षीले त्यत्रो सदासयता राख्दा पनि त्यसको नजरअन्दाज गर्ने स्थिति भयो, त्यो हाम्रो लागि अप्रत्याशित पनि भयो । हामी चाहिने भन्दा बढी लचकदार भइरहेका छौं । हामीले लामो समयदेखि भनिराखेको गृहमन्त्रीले बोल्न पाउनुपर्छ भनेपछि उहाँले बोल्नु पाउनुपर्छ । उहाँले बोलेको कुरा सुन्ने भन्दैगर्दा जब्बरजस्ती कार्यसूचीमा प्रवेश गराउने काम भयो । यो सबै कुराले जसरी भएपनि यो संसद् पनि चल्न नदिने, छानबिन समिति पनि बनाउन नदिनेतर्फ नै सरकार उद्धत भएको भन्ने हाम्रो छलफलको आज निष्कर्ष रह्यो ।’
नेपाली काँग्रेसले रवि लामिछानेले जीवी राईलाई पन्छाएर सहकारी ठगीका बिषयमा आफु उम्किन खोजेको भन्दै पछिल्लो समयमा संसदीय समिति बनाउन मागसहित कडा बिरोध गरिरहेको छ । आज यसै बिषयमा निर्णय गर्न काँग्रेस सभापति निवासमा पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक बसेको थियो । रवि लामिछानेले भने आफु संसदीय छानबिन बनाउने कुरामा कुनैपनि हालतमा सहमती हुन नसक्ने र घेराबन्दीबाट आफूलाई कुनै असर नपने बताउँदै आएका छन् । आजको बैठकले सोमबारका लागि संसदीय दलको बैठकसमेत राखेको छ ।