प्रा.डा.त्रिरत्न मानन्धर/सन् १८६५ भन्दा अगाडि सगरमाथा विश्वको सर्वोच्च शिखर भएको तथ्य कसैलाई थाहा थिएन र यो हिम शिखर Peak XV अर्थात पन्ध्रौं चुचुरो भन्ने नामबाट प्रचलित थियो । सन् १८५२ मा भारतका सर्वेयर जनरल Andrew Waugh ले यस हिम शिखरको गहिरो अध्ययन गरि विश्वको सर्वोच्च शिखर ठहर्याई सन् १८६५ मा यसको नामांकरण आफ्ना गुरु र पूर्ववर्ति George Everst को नामबाट Mount Everest भनेर नयाँ नाम राखिदिए ।
विश्वको उक्त सर्वोच्च शिखरलाई तिव्बती र सर्पेली भाषामा झोमोलोङमा वा चोमोल्वाङमो भनिन्थ्यो । त्यसबेला सीमित क्षेत्रका सीमित व्यक्तीहरुले यसलाई सगरमाथा भन्ने गर्दथे । सगरको अर्थ आकाश र माथाको अर्थ टाउको हुने भएकोले विश्वको सर्वोच्च चुचुरोको रुपमा यसलाई सगरमाथा भनिएको हो ।
वि.सं. १९९५ (सन् १९३८) मा इतिहासशिरोमणि बाबुराम आचार्यले ठूलो मेहेनतका साथ उक्त तथ्य पत्ता लगाई ‘शारदा पत्रिका’मा एउटा लेखद्वारा सबैलाई जानकारी दिए । त्यस बखत नेपालमा जहानीय राणा शासन रहेको थियो । त्यसबेला राणाहरुले अंग्रेजहरुलाई आफ्ना अन्नदाता मान्दथे । एउटा अंग्रेजको नाममा रहेको हिम शिखरलाई सगरमाथा नाम दिएकोमा त्यसबेलामा राणा सरकार बाबुराम आचार्यसँग धेरै रिसाए । उनको जागीर खोस्नेसम्मको कुरा आयो । तर उक्त सगरमाथा नाम आफुले राखेको नभई सीमित क्षेत्रमा प्रचलित नामलाई अगाडिमात्र ल्याईदिएको बाबुराम आचार्यले सपष्टिकरण दिएपछि बाबुराम आचार्यको जागीर भने जोगियो तर उक्त नाम भने प्रचलनमा ल्याउन राणा सरकार असमर्थ भयो, प्रचलनमा आएन ।
१०४ बर्षे जहाँनीया राणा शासनको वि.सं.२००७ सालबाट अन्त्य भयो त्यसको ३ बर्षपछि अथवा २०१० सालमा नेपाली तेजिङ शेर्पा र न्यूजिल्याण्डका एडमण्ड हिलारीले पहिलोपटक सर्बोच्च शिखरमा पाईला टेकेपछि सगरमाथाको नाम बढी प्रचलनमा आउन थालेको हो । त्यसपछि २०१६ सालमा मात्रै नेपाल सरकारले सगरमाथालाई आधिकारिक मान्यता दिन थाल्यो ।
नेपालीमा सगरमाथा नाम प्रचलनमा आएपनि अंग्रेजीमा हाल सम्म पनि Mount Everest नै नाम यथावत प्रयोगमा आईरहेको छ । नेपालका अन्य हिम शिखरका नाम अंग्रेजी र नेपालीमा एउटै छ जस्तै अन्नपूर्ण, धौलागिरी, कंचनजंगा आदि । यस्तो अवस्थामा सगरमाथाको नाम पनि अंग्रेजीमा Mount Everest को सट्टा Mount Sagarmatha हुनुपर्छ भन्ने हाम्रो मान्यता र माग छ । नेपाल सरकारले एउटा आधिकारिक निर्णय गरि मातहतका निकाय तथा कुटनीतिक क्षेत्रमा अंग्रेजीमा पनि Mount Sagarmatha नामांकरण गर्न एउटा एउटा निर्णय र लिखित निर्देशन नै जारी गर्नुपर्ने देखिन्छ । यसमा नेपाली नाम हुँदाहुँदै विदेशी नाम राख्न हुन्न भन्ने कुरामा सम्पूर्ण नेपाली जनताको समर्थन रहने कुरा निश्चित छ ।
इतिहासशिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठान, अध्यक्ष
नयाँ बानेश्वर–१०, काठमाडौं ।
सम्पर्कः ९८५१०१२७२८३, ई–मेलः [email protected]