राजनीति

नेपाली कांग्रेस सरकारमा जाँदैन, २०८४ सम्म प्रतिपक्षमै बस्छ : महामन्त्री थापा

२६ जेठ, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस विसं २०८४ सम्म प्रतिपक्षमा बस्ने बताएका छन् । नेपाली कांग्रेस काठमाडौं महानगरपालिका–३ वडा कार्यसमितिले आज आयोजना गरेको ‘वर्तमान राजनीतिक अवस्थामा नेपाली कांग्रेसको भूमिका’ विषयक अन्तर्क्रिया कार्यक्रममा उनले अर्को निर्वाचनसम्म कांग्रेस सशक्त प्रतिपक्ष भएर बस्ने बताएका हुन्।
महामन्त्री थापाले विसं २०७९ को निर्वाचनमा पाँच वर्षका लागि पाँच दलबीच गठबन्धन भए पनि चाहनाले नभई परिस्थितिले गठबन्धन टुटेकाले अब प्रतिपक्षमा बसेर सङ्गठन निर्माणको कामलाई अगाडि बढाउने बताएका हुन्। तीन वर्षको समय पार्टीलाई पुनःनिर्माण र बलियो बनाउने समय भएको उनको भनाइ छ ।
उनले भने, “अहिले हामी प्रतिपक्षमा आएका छौँ । हाम्रो चाहनाले होइन । परिस्थितिले हामीलाई प्रतिपक्षमा ल्याएको छ । यो सन्दर्भमा हाम्रो पार्टीको केन्द्रिय समितिको बैठक बस्छ, केही दिनमा । बैठकमा छलफल गरेर औपचारिक निर्णय गर्दछ । त्यो अघि हामीलै नेतृत्व तहमा बसेर प्रशस्त छलफल गरेका छौँ । त्या छलफलबाट केही समझदारी कायम गरेका छौँ । अब २०८४ सालसम्म नेपाली कांग्रेस संघीय संसदभित्र प्रतिपक्षको भूमिकामा बस्छ । हामी ०८४ सम्म अब सरकार बनाउन, सरकार गिराउन, कतै आँखा पनि लगाउँदैनौँ, हात पनि लम्क्याउँदैनौँ ।”