समाचार

राष्ट्रिय अनुसन्धान विभागका उप-अनुसन्धान निर्देशक चौधरीविरुद्ध मुद्दा

२७ जेठ, काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागका उप-अनुसन्धान निर्देशक हेमन्त चौधरीविरुद्ध मुद्दा दायर गरेको छ। नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा उनीविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको अख्तियारले जनाएको छ।
नेपाल प्रहरी,सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत कर्मचारीहरूले सेवा प्रवेश र बढुवाको लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको हुँदा छानबिन गरी पाउँ भन्ने अख्तियारमा उजुरी निवेदन परेको थियो।
उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा १ बमोजिमको कसुर ,कैद र जरिवाना सजाय हुन मागदाबी गरिएको अख्तियारले जनाएको छ।