प्रदेश 1

निर्माणाधीन पूर्वाधारहरुको कांग्रेसद्वारा अनुगमन

२७ जेठ, धरान । नेपाली कांग्रेसले क्षेत्र नं. १ सुनसरी अन्तर्गत पर्ने धरान उपमहानगरपाकिा र बराहक्षेत्र नगरपालिकामा निर्माणाधीन अवस्थामा रहेको विभिन्न पूर्वाधारहरुको अनुगमन गरेको छ । कांग्रेसले धरान ५ मा निर्माण भईरहेको दशघरे समाजको सामुदायिक भवन, धरान १५ मा निर्माण भईरहेको ओखलढुङ्गा सेवा समाजको भवन, धरान १५ मै निर्माण भईरहेको ङ्युने लाखाङ गुम्वाको ध्यानकेन्द्र, धरान ८ मा निर्माण भईरहेको श्रीहिमालय महायामन रिन्छेन् छ्योलिङ बुद्धिष्ट गुम्वाको पानी टंकी र बराह नगरपालिकामा रहेको बराहक्षेत्र मन्दिरको निर्माणाधीन भौतिक संरचनाको अनुगमन गरेको हो ।
अनुगमन टोलीमा कांग्रेसका प्रदेश महामन्त्री उमेश थापा, प्रदेश सांसद ममता तामाङ, क्षेत्र नं. १ का क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, बराहक्षेत्र नगर प्रमुख रमेश कार्की, क्षेत्रीय सदस्य ध्रुव गिरी, प्रदेशसभा १९१० का कोषाध्यक्ष रविना सुब्बा गुरुङ, धरान नगर उपसभापति तथा पूर्व वडा अध्यक्ष सन्तोष लिम्वु, प्रदेशसभा सदस्य विष्णु मोक्तान, वडा सभापतिद्धय कुमार देवान र डम्वर गुरुङ, वडा सचिव गजेन्द्र लिङ्थेप, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ, प्रदेशसभा १९१० सभापति भावना चित्रकार लगायत सम्मिलित थिए ।
अनुगमन गरिएका निर्माणाधीन पूर्वाधारहरु कोशी प्रदेश सरकार, प्रदेश सांसद कोष ममता तामाङ, गुम्वा व्यवस्थापन समिति लगायतको सहयोगमा निर्माण भईरहेको हो । अनुगमन पश्चात सन्तोषजनक रुपमा पूर्वाधार निर्माणको काम भईरहेको प्रतिक्रिया सांसद ममता तामाङले दिएकी छिन् । उनले अधुरो योजनाहरुलाई पूर्णता दिन आगामी वर्षमा समेत बजेट विनियोजनका लागि पहल गरिने बताईन् ।
अनुगमनको समन्वय र संयोजन क्षेत्रीय सभापति सुजेन्द्र तामाङले गरेका थिए । सो अवसरमा सम्बन्धित संस्थाका जिम्मेवार व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो ।