२७ जेठ, काठमाडौँ । काठमाडौंको स्क्वायर बचत तथा ऋण सहकारी संस्थाको सात करोड चालीस लाख रुपैयाँभन्दा बढी रकम अपचलन गरेको आरोपमा सीआइबीले तीन जनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिकाको सहकारी विभागको अनुसन्धान र सिफारिसपछि सीआइबीले थप अनुसन्धानबाट सहकारीको ७ करोड ४० लाख ८७ हजार ८६० रुपैयाँ बचत रकम अपचलन गरेको निष्कर्ष निकाल्दै अध्यक्ष काठमाडौं महानगरपालिका-१४, कुलेश्वरका ६६ वर्षीय बासुदेवमान जोशी, सचिव काठमाडौं महानगरपालिका-२५, केलकोलका ६७ वर्षीय सुवर्ण सेलालिक र सदस्य काठमाडौं महानगरपालिका-२६ नरदेवीका ५८ वर्षीय धर्मरत्न पाछैंलाई पक्राउ गरेको हो ।
अध्यक्ष जोशीसहित तीनै जनालाई शुक्रबार नियन्त्रणमा लिइएको र आइतबार काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाइएको छ ।
सहकारीका संचालकहरुले निक्षेपकर्ताहरुलाई आर्कषक ब्याजदर दिन्छु भनेर प्रलोभन देखाई निक्षेपकर्ताको रकम सहकारी मुद्दति, निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाएको, तर पछि बचतकर्ताहरुले जम्मा गरेको रकमको साँवा र ब्याज फिर्ता नगरेको पाइएको छ ।