समाचार

गण्डकीमा ‘फ्लोर क्रस’ गरेका देवकोटा र मनाङे मन्त्री नियुक्त हुँदै

२८ जेठ, काठमाडौं । गण्डकी प्रदेश सभामा फ्लोर क्रस माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित सांसद फणिन्द्र देवकोटा र स्वतन्त्र सांसद दीपक मनाङे मन्त्री नियुक्त हुने भएका छन् ।
सोमबार प्रदेश सभामा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिनका लागि राखेको प्रस्तावमाथिको मतदानमा भाग लिँदै उनीहरुले पाण्डेको पक्षमा मत दिएका थिए ।
आज बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री पाण्डेले राखेको प्रस्तावमा उनको पक्षमा ३१ जनाले मत दिए । उनलाई कांग्रेस, राप्रपा, नेसपा र स्वतन्त्र सांसद दिपक मनाङेले मत दिएका थिए । विपक्षमा भने नेकपा एमाले र माओवादी केन्द्रका २८ जना सांसदले मत दिए ।

विश्वासको मत पाएसँगै पाण्डेले आजैसाँझसम्म दुई जनालाई मन्त्री नियुक्त गर्न लागेको उच्च स्रोतले जनाएको छ । आज मन्त्री नियुक्त भए उनीहरुको शपथ भने मंगलबार हुन सक्ने स्रोतको भनाई छ ।