३० जेठ, काठमाडौँ । एमाले सांसद भीमप्रसाद आचार्यले नेपाल क्रिकेट संघ क्यानले आर्थिक अपचलन गरेको आरोप लगाएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद आचार्यले अमेरिका र वेस्ट इण्डिजको संयुक्त आयोजनामा भइरहेको विश्व कपमा क्यान नेतृत्वबाट अनेकौं खालका गलत काम गरेको गुनासो आएको भन्दै आयोग गठन गरेर छानबिन गर्नुपर्ने माग गरे।
उनले क्यान नेतृत्वले नेपाललाई जिताउन नभइ हराउन भूमिका खुलेको,खेलाडीहरूलाई शीर निहुराएर हिँड्नुपर्ने अवस्था बनाएको,आर्थिक अपचलन गरेकोजस्ता अनेकौं गुनासो आइरहेको बताए।
उनले भने,”खेलाडीहरूलाई होटलमा उभ्याएर त्यहाँ चन्द उठाएर दुरूपयोग गरेको गुनासो आएको छ। अवैधरुपमा जर्सीहरू अमेरिका लगेर नेपालीहरूलाई महंगोमा बेचेर रकम हिनामिना गरेको गुनासो आएका छन्। अमेरिका बस्ने नेपालीहरूबाट चन्दा उठाइ क्यानको खातामा जम्मा नगरेको गुनासो आएको छ। ८० डलर पर्ने टिकट १३५ डलर ब्ल्याकमा बिक्री गरेको गुनासो आएको छ। ४०० वटा टिकट र २० वटा भीआईपी पासको पनि अवैध ढंगले बिक्री गरेको भन्ने गुनासो आइरहेको छ। आयोग गठन गरेर क्यानमाथि छानबिन हुनुपर्छ।”