पर्यटन/संस्कृति

पर्यटन क्षेत्रमा देखिएको समस्या समाधान गरि कम्तिमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य छः पर्यटनमन्त्री तामाङ

३१ जेठ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हित बहादुर तामाङले यस वर्ष पर्यटन क्षेत्रमा देखिएको समस्या समाधान गरि कम्तिमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको बताएका छन् । शुक्रबार काठमाडौँको भृकुटीमण्डपमा नेपाल इन्टरनेशनल टुरिजम एक्स्पोको उद्घाटन कार्यक्रममा आफ्नो धारणा राख्दै उनले सो कुरा बताएका हुन् ।

सन् २०२३ मा १० लाख पर्यटक नेपाल आएकोमा सन् २०२४ मा कम्तिमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले काम गरिरहेको मन्त्री तामाङको भनाई छ । सरकारले यस क्षेत्रको बिकासको लागि पहिले लगाउंदै आएको हवाई टिकटको भ्याट र अन्य केहि अनाबस्यक कर हटाउने काम भैरहेको र यसको समाधान बजेट पास अघिनै गरिने उहाँले प्रस्ट पारे । यसले सस्तोमा पर्यटक नेपालमा धेरै समय बस्न प्रोत्साहित हुने बिश्वास सरकारले लिएको उनको भनाई छ ।

पर्यटन क्षेत्रले बेहोरिरहेको समस्या समाधान गर्न सरकार लागिपरिरहेको उनको भनाई छ । पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि यस क्षेत्रमा विभिन्न करहरु हटाउने कुरामा सरकार लागि परेको र संवोधन हुने उनले बताए । बिश्व पर्यटन बजारमा नेपाल घुम्नैपर्ने सुचिमा पर्ने हुँदा अब पुरानो गन्तब्य मात्र नभई पर्यटनको राम्रो सम्भावना देखिएको नयाँ गन्तब्यमा पूर्वाधार निर्माणको काम सरकारले सुरु गरिसकेको छ । प्राकृतिक सम्पदा, हिमालको आरोहण गर्न आउने पर्यटक संख्यामा अझ बढोत्तरी गर्ने लक्ष्य सरकारको रहेको छ ।

पर्यटन क्षेत्रको विकासले मुलुकलाई समृद्ध पार्न आधार तयार पार्ने हुँदा यस क्षेत्रमा काम गर्दै आइरहेका संस्थासँग सहकार्य गरेर सरकारले काम गर्ने लक्ष्य लिएको छ । नेपाल दुई ठुला छिमेकी मुलुक भारत र चीनका लागि आकर्षक पर्यटकिय गन्तब्य समेत हो । पर्यटन क्षेत्रको विकासले नै मुलुकलाई समृद्ध पार्न आधार तयार पार्ने गर्दछ । भृकुटीमण्डपमा नेपाल इन्टरनेशनल टुरिजम एक्स्पो २ दिनसम्म चल्नेछ।