विचार/ब्लग

धनराज, गगन, विश्वप्रकास, प्रदीपहरु पनि काँग्रेसमा गुट निर्माणमा लागेपछि अरुको के आश ?

बाबुराम आचार्य / नेपाली काँग्रेसका नेताहरु देश, लोकतन्त्र र पार्टी बलियो बनाउन भन्दा अझैपनि आफु, आफ्नो गुट बलियो बनाउन देश–विदेश दौडाहा वा कोठे वा रेष्टुरेण्ट, होटल, रिसोर्ट बैठकमा ब्यस्त रहेका छन्, २१ शताब्दीमा सुहाउँदो, विश्वजगतले पत्याउन योग्य स्थायीत्व दिने खाल्को कुनै योजना पार्टी कार्यकर्ता तथा शुभचिन्तकसँग ल्याउने ध्याउन्न कसैलाई पनि देखिन्न ।

नेपालको अन्तर्राष्ट्रिय नीति निर्माण गर्ने, बिग्रीएको छवि सुधार्ने कार्य, कृषि–पर्यटनको आधुनिकिकरण, यातायात प्रवर्धन, रोजगारीको श्रृजना, अवैज्ञानिक शिक्षा–स्वास्थ्य त्यसमाथी असाध्यै महंगोलाई वैज्ञानिक र निःशुल्क बनाउने, सूचना प्रबिधिको सुहाउँदो विकास, देश विकासको खोज अनुसंधानलगायतमा काँग्रेसका पुराना नेताको ध्यान त शुन्य नै देखिएको छ त्यसमा नयाँ देखिएका उदाउँदा भनिएका नेताहरु उपसभापति धनराज गुरुङ, बिश्व प्रकाश शर्मा, गगन कुमार थापा, प्रदीप पौडेल, चन्द्र भण्डारी, बद्री पाण्डे लगायतका नेताहरु पनि आफु र आफ्नो गुट बलियो बनाउने कार्यमा सकृया देखिन्छन् ।

पछिल्लो समयमा पत्रकार रवि लामिछानेले गठन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले धेरैजसो नेपाली काँग्रेसका मतदाता लगेर चौथो पार्टी बनाएर उपप्रधान तथा गृहमन्त्री बन्ने अवशर पाउँदै पहिलो पार्टी बन्दै नेपाली काँग्रेसलाई प्रमुख प्रतिपक्षी दलमा खुम्च्याउँदासमेत नेताहरुले सरकारको नेतृत्व लिने वातावरण बनाउन सकेका छैनन् । यसका अलवा काठमाडौं महानगरपालीकाका मेयर बालेन शाहको नयाँ पार्टी खोली एउटा जमात उक्त पार्टीमा भित्र्याउने योजनाको सम्भावना बलिायो भएका बेला नेपाली काँग्रेसकमा नेताहरु दैनिक रुपमा गुट बनाउँदै उट्घाटन र मिडियामा अन्तरवार्ता दिने कार्यमा मात्र ब्यस्त भएकाबाहेक केही देखिँदैन । उनीहरु आफु काँग्रेसभित्र कसरी स्थापीत हुने भन्नेबाहेक कुनैपनि रचनात्मक कार्यमा लागेका देखिन्नन् । नेपाली काँग्रेसका केही नेताहरुले प्रशंसा गरेका काठमडौं महानगरका मेयर बालेन शाहको पछिल्लो समय काँग्रेस पार्टीले नै संसदबाटै प्रशंसा गरिसकेको छ । अब कसैको बिरोध वा समर्थन भन्दा काँग्रेस, लोकतन्त्र र देश बनाउन ढिला भएन र ?

भारतमा भएको पछिल्लो निर्बाचनमा बहुमत जुटाउन नसकेको भाजपाले ठूलो दलको हिसावले सरकार बनाउन सफल भएको उदाहरण पत्रिकामा सबै नेपाली काँग्रेसका नेताहरुले समाचार पढेका होलान् भन्ने पनि शंका नै लाग्न थालेको छ । जनताले २०७९ सालको संघीय निर्बाचनमा सबैभन्दा ठूलो पार्टी बनाएको भएपनि काँग्रेस अहिले प्रतिपक्षमा छ । यो अल्पकालीन रुपमा सरकार बनाउने र गिराउने खेलमा लाग्नु, पार्टीका नेताहरुलाई सिध्याउने र आफुनो पोजिसनमा बस्नेबाहेकको सेटिङ मिलाउने बाहेक नेताहरुको केही गरेको देखिन्न । अब २०८४ सालको आम निर्बाचन त के, त्यो भन्दा पछाडिका दर्जन निर्बाचनमा समेत यस्तै संक्रमण आईरहन्छ । अब देश बनाउने नेपाली काँग्रेसले नै हो भने नयाँ तरीकाले काँग्रेसका युवा नेताहरुले सोच्न ढिलो भएको छ । काँग्रेसलाई विश्व समुदायले बिश्वास गरेपनि अन्य पार्टीको तुलनामा विश्वास गरेको मात्र हो, नेपालको विकास, समृति र स्थायीत्व अन्य पार्टीबाट त असम्भव नै छ, अब आफु बन्ने भन्दा देश बनाउनेमा लाग्नुस् नत्र देश विकास हुन्नमात्र होईन, देश असफल राष्ट्रको भूमरीमा पर्नसक्छ, बेलैमा चेतना भया !