समाचार

काठमाडौँका मेयर बालेन शाह पुगे ब्राजिल

३ असार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह नगरसभाको बैठक १० गतेसम्म स्थगित गरेर ब्राजिल प्रस्थान गरेका छन्। असार ५ र ६ गते ब्राजिलको साओ पाउलोमा हुने मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन उनी आज बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै ब्राजिल प्रस्थान गरेका हुन्।
मेयर बालेन मेट्रोपोलिस निर्देशक बोर्ड सदस्य हुन् । मेट्रोपोलिस विश्वका ठूला महानगरहरूका बीचमा विश्वव्यापी सहयोग, संवाद, ज्ञान र समाधान आदानप्रदान गर्ने, सामूहिक आवाज बुलन्द गर्ने अन्तरराष्ट्रिय संस्था हो ।
उनी बैठकमा सहभागी भएर असार ८ गते स्वदेश फर्कने कार्यतालिका छ। प्रमुखका साथमा पूर्वाधार सल्लाहकार सुनिल लम्साल गएका छन्।