शिक्षा

आठ कक्षा पास गरेपछि नौमा भर्ना हुने जस्तो हुनु हुँदैन विद्यावारिधि पीएचडीः शिक्षा मन्त्री श्रेष्ठ

८ असार, काठमाडौं । शिक्षा मन्त्री सुमना श्रेष्ठले आठ कक्षा पास गरेपछि नौमा भर्ना हुने जस्तो हुनु हुँदैन विद्यावारिधि भनेकी छन् ।
उनले एक विदेशी संस्थाले एक कार्यक्रमका माझ रकम लिएको भरमा पुरस्कार र मानार्थ विद्यावारिधि उपाधि प्रदान गर्ने लागेको खबरप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै संस्थाको नाम उल्लेख नगरी उक्त कुरा बताएकी हुन् ।
मन्त्री श्रेष्ठले यसलाई ठगीको रुपमा लिई यसमा सघन अनुसन्धान गरी संलग्न सबैलाई हदैसम्मको कारवाही गर्न गृह मन्त्रालयलाई अनुरोध गरिसकेकी छु भनेकी छन् ।


उनले भनेकी छन्ः

एक विदेशी संस्थाले एक कार्यक्रमका माझ रकम लिएको भरमा पुरस्कार र मानार्थ विद्यावारिधि उपाधि प्रदान गर्ने लागेको खबरप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।

विदेशी संस्थाले शैक्षिक उपाधि दिन यस शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको स्वीकृति लिन पर्नेमा कुनै जानकारी नदिई, स्वीकृतिको लागि कुनै प्रक्रिया समेत शुरु नगरेको पाइएकोले कार्यक्रममा रोक लगाउन निर्देशन दिएकी छु । त्यति मात्र नभई यसलाई ठगीको रुपमा लिई यसमा सघन अनुसन्धान गरी संलग्न सबैलाई हदैसम्मको कारवाही गर्न गृह मन्त्रालयलाई अनुरोध गरिसकेकी छु ।

नेपाली समाजमा नामको अगाडि “डाक्टर” राख्ने मोह पनि उदेक लाग्दो छ । यस्तो उपाधि लिन भुक्तानी समेत गर्नुहुनेहरू स्वयं लज्जित हुनु पर्ने हो । विद्यावारिधि मानव सभ्यताको ज्ञानमा नवीन उपलब्धि थपेपछि प्रदान गरिने उपाधि हो। फुर्सदको समयमा यसो काम गरे जस्तो गरेर र अझ पैसा तिरेकै भरमा पाइने यस्तो विद्यावारिधिले यसको लागि सम्बद्ध विषयमा वर्षौँको अध्ययन, पूर्णकालीन सोधकार्यमा लागेकाहरूको लगन र मिहिनतको अवमूल्यन गर्छ । आठ कक्षा पास गरेपछि नौमा भर्ना हुने जस्तो हुनु हुँदैन विद्यावारिधि, यो सबैको लागि होइन पनि । सम्बन्धित विषयमा तीव्र रूचि र उल्लेख्य समय दिन सक्छु भन्नेले मात्र गर्ने हो ।

यस्ता कार्यक्रम सहज र खुला रुपमा सञ्चालन गर्ने धृष्टता गर्न सक्नुले हाम्रो शिक्षा क्षेत्रमा कति नैतिक विचलन छ भन्ने संकेत दिन्छ । यस्ता बिकाउ उपाधि र पुरस्कारको पछि नलाग्न सबैलाई आग्रह गर्दै भविष्यमा कसैले यस्तो गरेको थाहा पाए सम्बन्धित निकायमा उजुरी गर्न हुन आग्रह गर्दछु । साथै यस कार्यक्रममा प्रकाश पार्ने सञ्चारकर्मीलाई विषेश धन्यवाद ।