समाचार

डा अर्याल त्रिभुवन विश्वविद्यालय पत्रकारिता विभागको विभागीय प्रमुखमा नियुक्त

१४ असार, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय आम सञ्चार तथा पत्रकारिता विभागको विभागीय प्रमुखमा डा कुन्दन अर्याल नियुक्त भएका छन् । 

प्रा प्रवलराज पोख्रेलको अवधि यही ७ गते सकिएपछि उक्त पद खाली थियो । एक महिना भन्दा केही बढी मात्र विभागीय प्रमुख बन्न सफल भएका प्राध्यापक पोख्रेलको अवधिपछि नियुक्त भएका बहु प्रतिभाका धनी डा अर्यालको अवधि विभागीय प्रमुखको रूपमा ४ वर्ष रहनेछ । 

आर आर क्याम्पसको प्रांगढबाट २२ करोड भन्दा बढीको लागतमा निर्मित बल्खु डिन कार्यालयको नजिकमा रहेको नयाँ भवनमा सरेपछि पत्रकारिता विभागमा नयाँ चुनौती रहेका छन् । एकातिर विद्यार्थी बस्ने डेक्स् बेन्चको समेत अभाव रहेको छ ।  सह–प्राध्यापकसमेत रहेका बहु प्रतिभाका धनी डा अर्यालको नियुक्तिसँगै पत्रकारिता विभागले काँचुली फेर्ने अनुमान विज्ञहरूले लगाएका छन् । 

प्राध्यापक पोख्रेलभन्दा अगाडी धेरै वर्ष उक्त विभागको विभागीय प्रमुखको रूपमा प्रा. चिरञ्जीवी खनालले सम्हालेका थिए । प्रा खनालका पालामा उक्त नयाँ भवन निर्माण भएको हो । भवन सरेको केही समयमै प्राध्यापक अवकाश भएपछि प्राध्यापक पोख्रेल विभागीय प्रमुख बनेका थिए । प्राध्यापक पोख्रेलले पनि विभागीय प्रमुख बन्नका लागि उपल्लो निकायमा निवेदन दिए पनि डा अर्यालले विभागीय प्रमुखमा जिम्मेवारी पाउन सफल भएका छन् । 

देशभरका मुख्य पत्रिका, टेलिभिजन, अनलाइन, एफएममा काम गर्ने वरिष्ठ पत्रकारहरू उत्पादन गर्ने पत्रकारिता विभागलाई देशकै महत्त्वपूर्ण शैक्षिक संस्थाको रूपमा लिइन्छ । डा अर्याललाई विभागका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूले खादा लगाएर आज अनौपचारिक रूपमा बधाई दिएका छन् ।  अवकाशपछि केही समय खाली भएका प्राध्यापक पोख्रेल पछिल्लो पटक केही दिनपछि सम्पन्न हुने नेपाल पत्रकार महासङ्घको निर्वाचनको संयोजक भई कार्य व्यस्ततामा रहेका छन् । 

नियक्तीपछि बधाई लिँदै डा अर्याल