राजनीति

मुलुकैभर धान रोपिनुपर्ने खेत आना-धुर-हातमा काटिए घडेरी बने, मानिस सङ्कटको भुमरीमा

बसन्ती धामी/ सदियौँ देखि हाम्रा पूर्वजहरूले असारको १५ लाई दही चिउरा खाने, धान रोप्ने अनि रोपाई लाई हर्ष उल्लासका रूपमा मनाउने गर्दथे । आषाढ १५ सँग नेपालीको  परम्परागत संस्कृति, मौलिकता, इतिहास लुकेको छ । आषाढ महिनाको सामाजिक र आर्थिक, वैज्ञानिकका साथै साहित्यिक पृथक् महत्त्व छ । 

विगतलाई हेर्ने हो भने आषाढ १५ को नेपालीसँग जोडिएको आफ्नै मौलिकता छ ।  हाम्रा पुर्खाहरूले आषाढ १५ लाई विशेष रूपमा झरीले धानको रोपाइँ राम्रो होस, त्यो झरीको पानीले हाम्रो दुःख कष्ट पनि बगाओस् अनि धानको बिउँ सँगै एक अर्काप्रतिको प्रेमील भाव बढिरहोस् र सद्भावको पनि बीजारोपण गर्न सकौँ भन्ने मान्यताका साथ यस दिनलाई विशेष दिनको रूपमा हर्ष उल्लासका साथ बिताउने गर्दथे । 

हाम्रो देश नेपाल कृषि प्रधान देश । यहाँका अधिकांश मानिस कृषि पेसामा आबद्ध । नेपालीहरूको जीविकोपार्जन गर्ने प्रमुख आधार कृषि ।  कृषिमा प्रचुर मात्रामा सम्भावना बोकेको मेरो देश नेपालमा बर्सेनि खरबाै‌काे कृषि उपज विदेशबाट आयातित हुँदा नेपालमा कृषि क्षेत्रका लागि बनाइएका नीति, नियम, विभिन्न दिवस, कार्यक्रम केवल रमाइलोको लागि मात्र सीमित छन् भन्ने आभास सबैमा भइरहेको छ । 

नेपालको प्रमुख खाद्य बाली धान । धान उत्पादनका लागि आवश्यक उपयुक्त भू-बनोट, त्यसमा पनि धान खेतीका लागि आवश्यक पर्ने पानी पर्याप्त मात्रामा उपलब्ध भएको मुलुक नेपालमा बर्सेनि धान उत्पादन गरिने खेती योग्य भूमि घट्दै गइरहेको अवस्था छ । 

कृषि उपज उत्पादनका लागि प्रकृतिले नै वरदान स्वरूप दिएको भू-बनोट छ नेपालसँग तर पनि उचित प्रकारको सरकारी नीतिका अभावका कारण नेपाल कृषि उपजमा परनिर्भर बन्दै गइरहेको छ ।

नेपालमा सरकारी निकायबाट कृषि क्षेत्रका लागि आवश्यक नीति, नियम, कार्यक्रम नभएका पनि होइनन् तर ठोस किसिमका नीति, कार्यक्रमको अभाव तथा तिनको थोरै पनि कार्यान्वयन हुन नसक्दा कृषि क्षेत्र उपेक्षाको विषय बन्न पुगेको छ । 

कृषि प्रधान देश नेपालमा धान खेतीलाई सुनको बालाको खेती पनि भन्ने गरिन्छ । 

नेपाल सरकारले विसं. २०६१ असार १५ गते देखि खाद्य सुरक्षाको प्रमुख आधारको रूपमा रहेको धानको उत्पादनलाई महत्त्व दिँदै औपचारिक रूपमा नेपालमा राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालियो । 

नेपालमा धानको इतिहास धेरै पुरानो छ । संसारमा रहेका २० वंशजका जङ्गली धानमध्ये चार वंशजका जङ्गली धान नेपालमा पाइन्छन् । धानको उत्पत्तिबारे शास्त्रहरूमा पनि उल्लेख भएको पाइन्छ ।  संसारको सबभन्दा अग्लो ठाउँ जुम्लामा पनि धान उत्पादन हुन्छ भन्ने कुराले नै प्रमाणित हुन्छ कि नेपालमा धानको इतिहास । 

धान नेपालको प्रमुख खाद्यान्न बाली र खाद्य सुरक्षाको प्रमुख आधार भएको हुँदा यसै महत्त्वलाई दृष्टिगत गरी उत्पादन वृद्धि एवं आधुनिकीकरण र व्यावसायिकीकरण गर्न धान दिवस मनाउन थालिएको हो । यस्तै नेपाली किसानलाई धान खेती प्रति प्रोत्साहन गर्न पनि आषाढ १५ लाई औपचारिकता दिएर नै दिवसका रूपमा मनाउन थालिएको हो । 

अहिले सरकारले औपचारिक रूपमा मनाउँदै आएको धान दिवस आषाढ १५ लाई हेर्दा यो औपचारिकतामा मात्र देखिन्छ । ओझेलमा पर्दै गइरहेको नेपालको कृषि क्षेत्रले गर्दा धान दिवसको उद्देश्य, लक्ष्य तथा यसको तात्पर्य के हो भन्न पनि कठिनाइ भइसकेको छ । 

विसं.स २०६१ देखि अहिले सम्मका धान दिवसका नारा हेर्ने हो भने, नारा एकातिर, कृषकको जीवनस्तर तथा कृषि एकातिर देखिएको छ ।  नाराहरू केवल शब्दमा मात्र राम्रा देखिएका छन् भने दिवस केवल रमाइलोको लागि मात्र हो कि भन्ने भइरहेको छ । 

२०६१ “धान खाद्य सुरक्षाको लागि वरदान”

२०६६ “कृषि भूमिको संरक्षण गरौँ, धानको उत्पादन बढाऔँ”

२०७१ “धान खेतीमा आधुनिकीकरण, खाद्यान्न आयातमा न्यूनीकरण”

२०७७ “धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि”

२०७८ “धान उत्पादनमा वृद्धि, खाद्य सुरक्षा, आत्मनिर्भरता, समृद्धि”

२०७९ “धान बालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग”

२०८० “जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि”

आज सम्मका नाराहरू हेर्दा त साँच्चिकै नेपाल कृषिबाटै समृद्ध भइसक्नुपर्ने हो । तर नाराहरू शब्दमा मात्रै सीमित रहे । प्रमुख खाद्य बाली नै  भएको नेपालमा ९० प्रतिशत धान भारतबाट आयात हुन्छ । 

मानिसको आधारभूत आवश्यकताहरूमा सबै भन्दा प्राथमिकतामा खाना नै आउँछ । सबैको प्राथमिकता पहिले आफू बाँच्नु नै हुन्छ । कृषि प्रधान देश नेपालका जनता हामी तर बाँच्न पनि अरू देशको मुख ताक्नु पर्ने अवस्था छ । 

यहाँको भूगोल, बनोट, हावापानीले गर्दा विश्वका अरू देशहरूमा सजिलै उत्पादन गर्न नसकिने खाद्य पदार्थ नेपालमा सजिलै रूपमा फलाउन सकिन्छ । तर विडम्बना कृषिबाटै आर्थिक समृद्ध बनाउन सकिने मेरो देश अहिले खाद्य उपजमै अरू देशमा भर पर्नु परेको अवस्था छ । 

पैसा भए पनि चामल किन्न नसकिने अवस्था आउँदैन भनेर भन्न सकिने अवस्था छैन त्यस कारण पनि नेपाल धान, चामलमा आत्मनिर्भर हुनै पर्ने अवस्था आइसकेको छ । 

नेपालमा धान उत्पादन हुने भूगोललाई हेर्दा धान खेती नेपालमा मनाङ र मुस्ताङ जिल्लाहरूबाहेक ७५ जिल्लाहरूमा हुन्छ । समुद्र सतहभन्दा ६० मिटर झापाको कचनाकलन माथिदेखि तीन हजार ५० मिटरसम्मको जुम्ला जिल्लाको छुमचौरसम्म धान खेती हुने गरेको छ । 

भौगोलिक विविधता रहेको हाम्रो देश नेपालको उच्च पहाडी क्षेत्रमा करिब ५ प्रतिशत, मध्य पहाडमा २५ प्रतिशत र तराईमा ७० प्रतिशत धानको उत्पादन हुन्छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको हो, जुन आव २०७०/७१ यता तुलनात्मक रूपमा बढी हो । तथ्याङ्कमा तुलनात्मक रूपमा बढी देखाएता पनि वास्तविक रूपमा नेपालमा चामलको आयात उच्च नै देखिन्छ । 

कृषि बाटै समृद्ध बनाउन सकिने देश नेपाल कृषि उपजमै परनिर्भर बनिरहेको छ जसको फल स्वरूप निकट भविष्यमै नेपाल खाद्य सङ्कटको चपेटामा पर्छ भन्ने कुरालाई नकार्न सकिँदैन ।  

विभिन्न तथ्याङ्कहरूलाई हेर्दा बर्सेनि नेपालमा धान खेती हुने खेती योग्य भूमि घट्दै गइरहेको छ । यसरी खेती योग्य भूमि घट्दै जानु, खेती योग्य भूमि बाझो हुनु, किसानका लागि सरकारले आवश्यक पहल नगर्नु, युवाको कृषि प्रतिको शून्य आकर्षणप्रति राज्यको चासो नहुनु जस्ता विकराल समस्याले गर्दा खाद्य सङ्कटको भुमरीमा नेपाल फस्ने कुरा निश्चय नै देखिएको छ । 

विभिन्न आर्थिक वर्षको सर्वेक्षण हेर्दा आव २०७९/८० मा ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन धान उत्पादन भएको थियो । 

यस्तै गरी आर्थिक वर्ष २०७८/७९ मा नेपालमा चामल आयात २३ अर्ब ४८ करोड ३५ लाख ३८ हजार ३६७ रुपियाँको चामल आयात भएको थियो ।  आर्थिक वर्ष २०७८/७९ नेपालमा ५१ लाख ३० हजार ६२५ मेट्रिक टन धान उत्पादन भएको थियो । १४ लाख ७७ हजार ३७८ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ ।  

आर्थिक वर्ष २०७७/७८ मा २८ अर्ब ६० करोड ३१ लाख २८ हजार  रुपियाँ बराबरको चामल आयात भएको छ । सो समयमा ५६ लाख २१ हजार ७१० मेट्रिक टन धान उत्पादन भएको थियो । जुन समयमा १४ लाख ७३ हजार ४७४ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । 

आर्थिक वर्ष २०७६/७७ मा २१ अर्ब २० करोड ४३ लाख ८३ हजार रुपियाँ बराबरको चामल आयात भएको छ । सो समयमा ५५ लाख ५० हजार ८७८ मेट्रिक टन धान उत्पादन भएको थियो । जुन बेला १४ लाख ५८ हजार ९१५ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । 

आर्थिक वर्ष २०७५/७६ मा ३० अर्ब ५८ करोड ४० लाख ७३ हजार रुपियाँ बराबरको चामल आयात भएको छ ।  यो समयमा ५६ लाख १० हजार ११ मेट्रिक टन धान उत्पादन भएको थियो । जुन बेला १४ लाख ९१ हजार ७४४ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो ।

यसैबिच पछिल्लो ११ महिनामा १४ खर्ब ५३ अर्बको वस्तु विदेशबाट आयात भएको छ ।  निर्यात भने जम्मा १ खर्ब ३९ अर्ब मात्र रहेको छ ।  यसैबाट प्रस्ट देखिन्छ  नेपालको वैदेशिक व्यापारको अवस्था । नेपालले पछिल्लो ११ महिनामा १५ खर्ब ९२ अर्बको वैदेशिक व्यापार गर्दा नेपालले १३ खर्ब १४ अर्ब व्यापार घाटा रहेको छ ।  नेपाली मुद्रा सबै विदेश गइरहेको छ । नेपाल व्यापार घाटाको चपेटामा परिरहेको छ । 

नागरिकहरूको खाद्य सुरक्षाको अधिकारलाई आधारभूत अधिकारका रूपमा नेपालको संविधानमा स्थापित गरेको छ । यसबाट पनि प्रस्ट हुन्छ कि राज्यले जुनसुकै अवस्थामा पनि नागरिकको खाद्य सुरक्षा सुनिश्चित गर्न आवश्यक हुन्छ  । यसका लागि कृषि प्रधान देश नेपाल कृषि उपजमा आत्मनिर्भर हुन जरुरी छ । 

कृषि उपजमा आत्मनिर्भर हुनुपर्दछ भन्ने जस्ता कुराहरू स्पष्ट नभएका पनि होइनन् । विभिन्न समयमा छिमेकी राष्ट्र भारतले गरेको नाकाबन्दी, कोभिडका बेलामा आयात–निर्यातमा भएका समस्याहरू तथा कहिलेकाहीँ निर्यातकर्ता देशहरूले आफ्ना निश्चित वस्तुहरू निर्यात नगर्ने दृष्टान्तहरूले खाद्यान्नमा आत्मनिर्भरको अपरिहार्यता स्पष्ट भइसकेको छ । 

भू माफियाहरूले गर्दा नेपालको कृषि क्षेत्र तहसनहस बन्न पुगेको छ ।  किसानले उत्पादन गरेका कृषि उपजहरू बजार नपाएर तथा भण्डारणको अभावले गर्दा कुहाएर फाल्नुपरेको छ । 

विदेशी मुलुकबाट आयात भएका खाद्य लगायत अन्य वस्तुहरू सजिलै रूपमा नेपालका हिमाल, पहाड, तराईका बजारमा पुग्नु तर नेपाली उत्पादनले बजार नै नपाउनु अर्थात् बजार पुग्न नपाई कुहिएर खेर जानु जस्ता विद्यमान समस्या नेपालको कृषि क्षेत्रमा देखा परेका छन् । 

उपभोक्ताले सुलभ मूल्य र पहुँचमा कृषि उपज उपभोग गर्न पाएका छैनन् । बढ्दो सहरीकरण, कृषियोग्य भूमिको संरक्षणमा गरिएका कमजोरीपूर्ण अभ्यासले आज मुलुकैभर धान रोपिनुपर्ने खेत आना आनामा काटिएर घडेरी बनेका छन् । 

कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर, किसानहरूलाई समयमा मल खाद र उपयुक्त बीउ बिजन उपलब्ध गराउने, चालु सिँचाइ आयोजनाहरू समयमै सम्पन्न गर्नुका साथै थप सिँचाइ सुविधा उपलब्ध गराउने, जलवायु अनुकूलित कृषिलाई अपनाउने र कृषिमा आधुनिकीकरण गर्ने कार्यहरूले उत्पादनमा उल्लेख्य वृद्धि गर्न सकिन्छ ।  

नेपालमा धान उत्पादन भएको १५ प्रतिशत जति धान उचित भण्डारणको अभावले गर्दा खेर जाने गरेको विभिन्न अध्ययनले देखाउँछ । जसको लागि खाद्यान्न भण्डारणमा राज्यले विशेष किसिमको व्यवस्था गर्नुपर्दछ  । 

कृषि क्षेत्रमा लागेका कृषकको जनजीवन गुणस्तर बनाउन तथा युवालाई कृषिमा आकर्षण गर्नका लागि नेपाली उत्पादनलाई उच्च प्राथमिकताका साथ नेपाली बजारका साथै अन्तर्राष्ट्रिय बजारमा निर्यात व्यवस्थामा राज्यले सहज वातावरण बनाउनुपर्दछ ।  

प्रकृतिबाट मानिसले सिकेको अनुपम व्यवस्थालाई बेवास्ता गरेसँगै खानेकुराकै कारण मानिस सङ्कटको भुमरीमा फस्दै गएको छ । पुर्खाले बनाएको खाना र खेतीपातीको वार्षिक पात्रो र यसलाई व्यवस्थित गर्न अपनाइएका सुझबुझका आधारमा हामी सुध्रिन जरुरी छ । जसले गर्दा पहल मात्रै पनि गर्ने हो भने वर्तमान समयमा भइरहेको खाद्य सङ्कटलाई  समाधान गर्नका लागि अनेकौँ उपायहरू फेला पार्न सकिन्छ । यसरी समाज र प्रकृतिमा आएको फेरबदलसँगै हाम्रो खाद्य प्रणालीलाई सबैका लागि र सधैँका लागि दिगो बनाउन सकिन्छ ।

समग्रमा भन्दा ‘दिवस’ले औपचारिकता पाउनु पनि ठुलो विषय हो । तर हामीले गाउँदै गरेका नाराहरू कति व्यवहारिक भइरहेका छन् भनेर मूल्याङ्कन गर्नु सबै सचेत नागरिकको कर्तव्य हुन्छ ।