खेलकुद

दक्षिण अफ्रिकालाई सात रनले हराउँदै भारत दोस्रो पटक टी–२० विश्व विजेता

काठमाडौं । दक्षिण अफ्रिकालाई स्तव्पदपार्दै भारत दोस्रो पटक टी–२० विश्व विजेता बनेको छ । रोमाञ्चक खेलमा भारतभारतले दक्षिण अफ्रिकालाई सात रनले हराउँदै टी–२० विश्वकपको उपाधि जितेको हो। भारतले टी–२० विश्वकपको उपाधि जितेको यो दोस्रो पटक हो । भारतले सन् २००७ मा पहिलो पटक टी–२० विश्वकपको उपाधि जितेको थियो । 

यो संगै भारत दुई पटक टी-२० विश्वकपको उपाधि जित्ने तेस्रो देश बनेको छ । यसअघि वेस्ट इन्डिज र इंग्ल्यान्डले दोश्रो पटक उपाधि जितेका थिए । भारतले प्रस्तुत गरेको १ सय ७७ रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६९ रन मात्र बनाउन सक्यो । योसँगै पहिलोपटक फाइनल पुगेको दक्षिण अफ्रिका उपाधि जित्नबाट वञ्चित भयो ।

दक्षिण अफ्रिकाका लागि हेनरिच क्लासेनले अर्धशतकीय इनिङस खेले । २७ बलको सामना गर्दै २ चौका र ५ छक्का प्रहार गरे । त्यस्तै, क्वीनटन डी ककले ३१ बलमा  ४ चौका र १ छक्काको मदतमा ३९ रन जोडे । त्यस्तै, ट्रिस्टन स्टब्सले २१ बलमा ३१ रनको योगदान दिए । डेभिड मिलरले १७ बलमा २१ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् ।

भारतका लागि हार्दिक पाण्ड्याले ३ विकेट लिए । उनले ३ ओभर बलिङ गर्दै मात्र २० रन खर्चिए । अर्शदीप सिंह र जसप्रित बुमराहले २–२ विकेट हात पारे । अक्षर पटेलले एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७६ रन बनाएको थियो ।

भारतका लागि फर्ममा फर्किएका विराट कोहलीले सर्वाधिक ७६ रन बनाए । यसअघिका खेलमा निराशाजनक प्रदर्शन गर्दै आइरहेका उनले आजको खेलमा भने ५९ बलको सामना गर्दै ६ चौका र २ छक्का प्रहार गरे । खेलमा भारतको सुरुवात भने राम्रो हुन सकेन । कप्तान रोहित शर्मा मात्र ९ रन बनाएर पभेलियन फर्किए ।

लगतै ऋषभ पन्त शून्य रनमै आउट भए । सूर्यकुमार यादव पनि ३ रन जोडेर कागिसो राबाडाको बलमा आउट भएपछि भारत दबाबमा परेको थियो । तर, कोहली र अक्षर पटेलले ५४ बलमा ७२ रनको साझेदारी गरेपछि भारतले सम्मानजनक योगफल बनाएको थियो । रन आउट हुन अघि पटेलले ३१ बलमा ४७ रन बनाए । उनले १ चौका र ४ छक्का हिर्काए ।

शिवम दुवेले पनि २७ रनको महत्त्वपूर्ण इनिङ्स खेले  । उनले १६ बलमा ३ चौका र १ छक्का प्रहार गरे । दक्षिण अफ्रिकाका लागि केशव महाराज र एनरिच नोर्टजेले २–२ विकेट लिए । त्यस्तै, मार्को यानसेन र कागिसो रबाडाले १–१ विकेट हात पारे ।