शिक्षा

विश्वविद्यालयको पत्रकारिता क्षेत्रलाई गुणस्तरीय बनाइ नमुनायोग्य बनाउन प्रतिबद्ध छु: विभागीय प्रमुख डा अर्याल

१८ असार, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख सह–प्राध्यापक डा. कुन्दन अर्यालले पत्रकारिता शिक्षालाई गुणस्तरीय र प्रयोगात्मक बनाउन सरोकारवाला क्षेत्रहरूको सहयोग आवश्यक रहेको  औँल्याएका छन् । 

स्नातकोत्तर तह प्रथम र तेस्रो सेमेस्टरका विद्यार्थीहरूले संयुक्त रूपमा आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै विभागीय प्रमुख डा. अर्यालले भने – ‘पत्रकारिता शिक्षालाई जीवन उपयोगी बनाउन र विद्यमान पत्रकारिताको अभ्याससङ जोड्न पाठ्यक्रममा सुधार गर्नुपर्छ’ ।

 सो अवसरका विभागीय प्रमुख डा. अर्यालले विश्वविद्यालयको पत्रकारिता क्षेत्रलाई गुणस्तरीय बनाइ नमुनायोग्य बनाउनु आफू प्रतिबद्ध रहेको र त्यसका लागि सबै प्राध्यापक र सरोकारवाला पक्षहरूको सिर्जनात्मक सहयोग अपेक्षित रहेको बताए  । यसै गरी उनले शिक्षाको प्रमुख केन्द्रबिन्दु विद्यार्थी भएको ल्याउँदै विद्यार्थीहरूको समस्यालाई समाधान गर्न सहजीकरणको भूमिका विद्यार्थीहरूबाट नै हुन सक्ने पनि बताए । 

कार्यक्रममा पत्रकारिता विषयमा विद्यावारिधि गर्नु भएका डा. देवराज अर्याल, डा. जगत् नेपाल र डा. घमराज लुइटेललाई पनि विद्यार्थीहरूको तर्फबाट बधाई ज्ञापन गरिएको थियो । त्यस अवसरमा उपप्राध्यापक डा. देवराज अर्यालले सबै विद्यार्थीहरूलाई ज्ञान र सिप हासिल गर्ने सवालमा कत्ति ‘प्रोएक्टिभ’ भएर क्षमता प्रदर्शन गर्न आग्रह गरे ।

त्यसै गरी अर्को उपप्राध्यापक डा. घमराज लुइटेलले पत्रकारिता जीवनमा आफू हासिल गरेका अनुभव सुनाउँदै,  ‘विद्यार्थीहरूलाई कडा मेहनत गर्न आग्रह गरेका थिए  । कार्यक्रममा उपप्राध्यापक शशिनाथ मरासिनीले विद्यार्थी जीवन ज्ञान आर्जनको महत्त्वपूर्ण क्षण भएको चर्चा गर्दै यो अवसरलाई अधिकतम रूपमा उपयोग गर्नु पर्छ’ भने  ।

उपप्राध्यापक शशी मरासिनीले डा कुन्दन अर्याल विभागलाई गति दिनका लागि ज्यादै नै उपर्युक्त व्यक्ती भएको भन्दै पत्रकारिता तथा आमसञ्चार विभागलाई अगाडी बढाउन नेतृत्वदायी भूमिका खेल्नेमा आफू विश्वस्त रहेको बताए । 

कार्यक्रम पहिलो सेमेस्टरको तर्फबाट छात्रा रञ्जु अधिकारी र तेस्रो सेमेस्टरको तर्फबाट छात्र मोहन प्रसाद मैनालीले नवनियुक्त विभागीय प्रमुख डा. कुन्दन अर्याललाई स्वागत एवं बधाई ज्ञापन गरेका थिए । 

स्नातकोत्तर तेस्रो सेमेस्टरका छात्र एवं कार्यक्रमका संयोजक बाबुराम आचार्यको सभापतित्वको भएको उक्त कार्यक्रममा नवनियुक्त विभागीय प्रमुख डा. कुन्दन अर्याललाई स्वागत, बधाई तथा शुभकामना अर्पण गरिएको थियो । सो अवसरमा कार्यक्रम संयोजक बाबुराम आचार्यले नवनियुक्त विभागीय प्रमुखबाट पत्रकारिता विभागका लागि आवश्यक सुधारका लागि उल्लेखनीय अपेक्षा गरेको बताए । उनले प्राथमिक स्वास्थ्य, विभागको सरसफाइ, विद्यार्थीको पढाइको गुणस्तर, विद्यार्थीलाई तत्काल आवश्यक इन्टरनेट सुविधा, भर्ना नगरी आईडिकार्ड उपलब्ध गराउने लगायतका तत्कालीन र दीर्घकालीन रूपमा विद्यार्थीको हितमा हुने कार्य गर्न विभागीय प्रमुखलाई आग्रह गरेका छन् । संयोजक आचार्यले कार्यक्रम गर्दा कलेजमा एजेन्डाका आधारमा गरिने र कसैलाई पनि आग्रह पूर्वाग्रहका आधारमा तथा माथि नगरिने भन्दै कार्यक्रम गर्दा उचित प्रकारको असन्तुष्टि भए छलफल गरेर अगाडी बढ्न सकिने बताए । 

केही दिन अगाडी सहप्राध्यापक डा कुन्दन अर्याल उक्त विभागको प्रमुखमा नियुक्त भएका थिए भने डा देवराज अर्यालले केही महिना अगाडी, डा जगत नेपालले त्यसपछि र डा लुइँटेलले भर्खरै मात्र विद्यावारिधि सम्पन्न गरेका थिए । केही दिनमा नै प्रमाणपत्र आएपछि उपप्राध्यापक शशिनाथ मरासिनीले समेत विद्यावारिधि गर्नेछन् र पत्रकारिता विभागका विद्यार्थिहरु सबै शिक्षकहरू डाक्टर भएका भाग्यमानी विद्यार्थी हुन पाउनेछन् ।