२३ असार, काठमाडौ । नेकपा एमालेका नेता योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले संबिधान बनेपछि २०७२ सालबाट ६ पटक यता र उता गरेको आरोप लगाएका छन् ।
प्रधानमन्त्री दाहालले अस्थिरता निम्त्याएका कारण काँग्रेस र एमालेजस्ता ठूला पार्टी मिल्न बाध्य भएको नेता भट्राईले बताए ।
नेता भट्टराईले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सकिईसकेका प्रधानमन्त्रीलाई समर्थन किन गरिरहेको भन्दै प्रश्न गरेका छन् ।
‘संसद्का दुई ठूला दल सहकार्य गरेर जाने निर्णय गरिसक्यो । प्रधानमन्त्री २८ गतेसम्म लम्ब्याउने कुरा किन भयो ? बुझ्नसकेका छैनौं । प्रधानमन्त्रीले विश्वास र समर्थन गुमाई सक्नुभएको छ । यस्तो बेलामा प्रधानमन्त्रीले संसद्बाट राजीनामा घोषणा गर्नु उपयुक्त हुन्छ । उहाँले पहिलोपटक विश्वासको मत लिँदा २६८, दोस्रोमा १७२, तेस्रो र चौथो पटक १५७ मत प्राप्त गर्नुभयो । अब उहाँले विश्वासको मत लिँदा कति मत प्राप्त गर्नुहुन्छ ?, ‘भट्टराईले भने, ‘म राष्ट्रिय स्वतन्त्र पार्टीलाई भन्न चाहन्छु, उहाँहरू सत्तापक्षमा बस्नुभएको छ । उहाँहरूको पार्टीको निर्णय र इच्छा हो । हामीले भन्नु केही छैन । तर, प्रधानमन्त्रीले प्वाल पारि सकेको डुंङ्गामा बसिरहनु भएको छ भने तपाईंहरू कता जाँदै हुनुहुन्छ, एक पटक सोच्नुहोला । राष्ट्रिय स्वतन्त्र पार्टीले जुन ढंगले अरुलाई पद र गरिमाको प्रश्न उठाई राख्नुभएको छ, त्यस हिसाबले सोच्न आग्रह गर्दछु ।’
्यही २८ गते प्रधानमन्त्री दाहालले विश्वासको मत लिने कार्यक्रम राखेका छन् ।