२३ असार, काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आइतबार दिउँसो विशेष मौसम बुलेटिन जारी गरेर मनसुनी न्यूनचापीय रेखा सोमबारदेखि दक्षिणतिर सर्ने भएकाले मनसुनको सक्रियता घट्ने जनाएको छ। यसले गर्दा वर्षाको मात्रा घट्नेछ।
पछिल्ला तीन दिन मनसुनी न्यूनचापीय रेखा नेपाल नजीक भएकाले देशैभरि वर्षा भएको थियो। कतिपय ठाउँमा बाढी, पहिरो र डुबानले जनजीवन प्रभावित पनि भएको छ।
सोमबारदेखि वर्षाको क्रम थामिए पनि कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा अत्यधिक वर्षाको सम्भावना भने यथावत् छ। मधेश, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।